काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हालै आधुनिक थोक कृषिबजारसम्बन्धी कार्यशाला आयोजना गरेको छ ।
सार्वजनिक निजी साझेदारीमा, आधुनिक (अन्तर्राष्ट्रियस्तरको) थोक कृषि बजार स्थापना र सञ्चालनको औचित्य, आवश्यकता र लगानी प्रवर्द्धनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहकार्य, नेपाल उद्योग वाणिज्य महासंघको सहआयोजना र डीएफसीडी÷एसएनभी परियोजनाको सहयोगमा मुक्तिनाथ कृषि कम्पनीले सो कार्यशाला आयोजना गरेको हो ।
कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध सञ्चालक भरतराज ढकालले किसानहरुले गरेको उत्पादनको बाइव्याक ग्यारेन्टी गरी उत्पादनमा प्रोत्साहन गर्न अन्तर्राष्ट्रियस्तरको थोक बजार आवश्यक रहेको बताए । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाः चुनौती र अवसरहरु सम्बन्धमा विज्ञ प्रस्तुतीकरण र आधुनिक थोक कृषि बजार स्थापना र सञ्चालनको नीतिगत विषय तथा हालसम्मका अनुभवहरुको सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि विभाग, नेपाल राष्ट्र बैंक र कृषि उद्यम केन्द्र सम्मिलित प्यानल छलफल भएको थियो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले साना किसानहरुको जीवनस्तर उकास्न र ठूला किसानहरुलाई सेवा दिने दिशामा निजी क्षेत्र लाग्नुपर्ने र मुक्तिनाथ कृषि कम्पनीले सुरु गरेको अभियानमा मन्त्रालयको पूर्ण साथ र सहयोग रहने बताएका थिए । त्यस्तै, मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले कृषि विधेयक मन्त्रिपरिषद्मा लैजाने अन्तिम तयारीमा रहेको र ऐन कार्यान्वयन भएपश्चात् उत्पादन, प्रशोधन र बजार व्यवस्थापनसम्बन्धी धेरै विषयहरु समाधान हुने बताए । नेपाल उद्योग वाणिज्य महासंघमा उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रका समस्याहरु समाधानका लागि महासंघले विभिन्न पहलहरु गरिरहेको र बजार व्यवस्थापनका लागि करार खेती ऐन निर्माण गर्नुपर्नेमा जोड दिए ।
आधुनिक थोक बजार स्थापना र सञ्चालनको सम्बन्धमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले भिडियोमार्फत सरकारले जग्गाको व्यवस्थापन र कृषि बजारसम्बन्धी स्पष्ट कानुन जारी गरेमा, पुराना बजार सञ्चालकहरु र नयाँ व्यवसायीहरुलाई समेट्दै १० अर्ब पुँजी लगानी गर्न तयार रहेको सन्देश दिएको छ ।