काठमाडौं । एन आई सी एशिया इक्वीटी लिंकड इन्भेष्टमेण्ट स्किम माग भन्दा बढी आवेदन परेको छ । एन आई सी एशिया क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक र योजना व्यवस्थापक रही एन आई सी एशिया इक्वीटी लिंकड इन्भेष्टमेण्ट स्किमको पहिलो चरणमा बीज पूँजी सहित १० रुपैयाँ अंकित दरका पाँच करोड इकाई यही साउन २९ गतेदेखि भदौ १२ गतेसम्म सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमाउक्त समयमा बीज पूँजी सहित जम्मा ८२ हजार आठ सय २८ जना आवेदकहरुबाट जम्मा ७४ करोड तीन लाख १६ हजार रुपैयाँ बराबरको इकाई खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यो पहिलो चरणमा माग गरिएको इकाई भन्दा एक दशमलव ४८ गुणा भन्दा बढी रहेको छ ।
उक्त योजनाको पहिलो चरणमा १० रुपैयाँ अंकित दरका पाँच करोड इकाई अर्थात ५० करोड रुपैयाँ बराबरको इकाई खरिदको लागि दरखास्त आह्वान गरिएको भएतापनि नेपाल धितोपत्र बोर्डबाट उक्त योजनाको आकार बीज पूँजी सहित एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्नका लागि स्वीकृत प्राप्त भएको तथा उक्त योजनाको स्वीकृत विवरण पत्रमा समेत अधिकतम सकारिने इकाई बीज पूँजी सहित १० करोड इकाई अर्थात एक अर्व सम्म पुर्याउन सकिने व्यवस्था रहे बमोजिम एन आई सी एशिया इक्वीटी लिंकड इन्भेष्टमेण्ट स्किमको इकाई खरिदका लागि सार्वजनिक निष्काशनको समयमा रितपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई माग गरे बमोजिम इकाई बाँडफाँड गरिने व्यहोरा समेत कम्पनीले जानकारी गराएको छ ।