काठमाडौं ।नेपालमा पुस महिनादेखि जापानिज इन्सेफलाइटिस (जेई) सङ्क्रमण फैलिँदै २३ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका अनुसार हालसम्म ११३ जनामा जेई सङ्क्रमण पुष्टि भएको छ। प्रदेश अनुसार सङ्क्रमित संख्या यसप्रकार छ: लुम्बिनी ३७, बागमती १८, कोशी १७, गण्डकी १६, सुदुरपश्चिम ९ र कर्णाली २। मृत्यु हुनेमा लुम्बिनी ८, बागमती ४, गण्डकी ४, कोशी ३, मधेश ३ र सुदुरपश्चिम १ जना छन्। विश्व स्वास्थ्य सङ्गठनकी नेसनल सर्भिलन्स अधिकृत डा। सोनिया भगतका अनुसार जापानिज इन्सेफलाइटिस मस्तिष्क सङ्क्रमण हो, जसले स्नायु प्रणालीमा असर गर्दै पक्षघात, मस्तिष्क सुन्निने, बेहोस वा कोमामा पुर्‍याउन सक्छ। रोगको मृत्युदर उच्च हुन्छ; सङ्क्रमितमा १५–३० प्रतिशतको मृत्यु हुने सम्भावना हुन्छ। यो रोग क्युलेक्स प्रजातिका लामखुट्टे मार्फत सर्छ। लामखुट्टे साँझ र बिहानको झिसमिसे समयमा बढी सक्रिय हुन्छन्। सङ्क्रमित सुँगुर, बङ्गुर वा चराबाट मानिसमा रोग सर्ने गर्छ। रोगबाट बच्न झुल प्रयोग गरेर सुत्ने, घर बाहिर लामो बाहुला भएको लुगा लगाउने, लामखुट्टे धपाउने मलम प्रयोग गर्ने, घरभित्र धूप वा स्प्रे गर्ने, घर वरिपरि पानी जम्न नदिने, झाडी तथा फोहोर हटाउने, र पानी भण्डारण गर्ने भाँडा छोपेर राख्नुपर्छ। डा. भगतका अनुसार जेईको निश्चित उपचार नभएकाले खोप नै मुख्य सुरक्षा उपाय हो। सरकारले १२ महिनाका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत निःशुल्क जेई खोप उपलब्ध गराउँदै आएको छ।