काठमाडौं । काठमाडौंको गोंगबुस्थित घरमा प्रहरीले करिब तीन घण्टादेखि छापा मार्दा ठूलो मात्रामा अवैध रकम बरामद भएको छ। प्रहरीले गोरखाका वीरेन्द्रबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङका अनुसार छापा मारिएको घरबाट ३ करोड ७६ लाख रुपैयाँ नगद र झण्डै दुई किलो सुन बरामद गरिएको छ। अनुसन्धानका प्रारम्भिक विवरण अनुसार, श्रेष्ठले मिटरब्याजमा पैसा लगाउने र सुन धितो राख्ने काम गर्दै आएको खुलेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।