आफूलाई पुरानाभन्दा धेरै नयाँ र परिवर्तनकारी भनी चिनाउँदै आएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवार बनाउँदा बहुविवाहलाई वैधानिकता दिन खोजेको हो कि भन्ने संकेतहरु प्रकट भइरहेका छन् ।
यो दलले यो हप्ता रूपन्देही–३ को उपनिर्वाचनमा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ, जसकाविरुद्ध दलमा नै बहुविवाहको उजुरी परेको छ । तर त्यसको छानबिन नगरी जेलमा रहेका पार्टी सभापति रवि लामिछानेले गरेको सामान्य सोधपुछपछि उनलाई रूपन्देही–३ को यो उपनिर्वाचनमा यो दलको उम्मेदवार बनाउने निर्णय गरेको भन्ने आरोप लागेको थियो ।
यद्यपि, उनले पहिलो विवाहबाट घरगृहस्थी नचलेपछि छोडपत्र दिएर अर्को विवाह गरेको भन्ने दाबी गरेका छन् । पछिल्लो समय त्यसको प्रमाण पनि प्रस्तुत गरेका छन् । उनी आफैँ रास्वपाका कायकर्ता भने होइनन् । अहिलेसम्म थापा नागरिक उन्मुक्ति पार्टीको समानुपातिक उम्मेदवार नै छन् । निर्वाचन आयोगले उनको नाम हटाएको जानकारी दिएको छैन ।
एउटा त उनको यो छनौट नै यो दलभित्र विवादको विषय बनेको छ । एकजना केन्द्रीय सदस्य गणेश कार्कीले आफ्नो सामाजिक सञ्जालमा यसरी लेखेका छन्–
लेखजंगबारे– पहिलेको श्रीमतीसँग छोडपत्र भए पनि सम्बन्ध अझै सुमधुर रहेको जानकारी पाएको छु । पार्टीले पहिलोपटक अभ्यास गरेको उम्मेदवार छनोट प्रक्रियामा केही कमीकमजोरी भएका हुन सक्छन् । पार्टीको समानुपातिक सांसद छनौट १२ क्लस्टरमा चुनाव भएर नतिजा निकालिएको थियो । पछि सांसद छान्दा छ क्लस्टर बनाइयो र म धपाइएँ । त्यसैले मैले आफू अलग्गै रहेर यसपटकको उम्मेदवार छनौटको प्रक्रिया चासोका साथ हेरेको थिएँ । यद्यपि, केही कमजोरी भएका हुन सक्छन्, जसको छानबिन र निष्कर्ष आवश्यक छ । पहिलेको समानुपातिक सांसद छनौटको विवाद पनि समाधानमा पुगेन, जुन बेला–बेला भिन्न स्वरूपमा प्रकट भइरहन्छ । यसले नयाँ प्रणाली निर्माणमा शंका बढाउँछ । त्रुटि हुने वा भएको आशंका हुने तर त्यसको निरूपण नहुने हो भने ती थुप्रिँदै गएर थामिनसक्नुको बन्छन् । बहुविवाहका सन्दर्भमा पहिलेको श्रीमतीसँग छोडपत्र भइसकेको तर सम्बन्ध भने अहिले पनि सुमधुर रहेको भन्ने जानकारी प्राप्त गरेको छु । कानुनीरूपमा सम्बन्धविच्छेद भएको भए अन्य व्यक्तिगत र पारिवारिक सन्दर्भको विषय भइहाल्यो । एउटा सम्बन्ध ‘बिग्रिएपछि’ कि मर्नु कि एक्लै जिन्दगीभर बस्नु भन्ने कसैले पनि चाहँदैन भन्ने मानेको छु ।
रवि चौथो श्रीमान्
अहिले उपनिर्वाचनका एक उम्मेदवारमाथि बहुविवाहको आरोप लाग्नुको कारण रास्वपा सभापति रवि लामिछानेले महिलाप्रति विगतमा देखाएका कमजोरी पनि हुन सक्छ । जसले यो उपनिर्वाचनका लागि टिकट दिए, उनी अर्थात् रवि आफैँ पनि अहिले चौथो विवाहको उपभोग गरिरहेका व्यक्ति हुन् ।
उनी राजनीतिमा आउनुभन्दा चार वर्षअघि २०७५ पुसमा उनकी जेठी श्रीमतीले सञ्चारमाध्यममार्फत नै रविको चौथो दाम्पत्य जीवन सफल रहोस् भनेर शुभकामना दिएकी थिइन् । अहिले दुईवटा विवाह गरेका व्यक्ति या दलका लागि जसरी छनौटमा परे त्यसको पृष्ठभूमिमा रविको विगत जोडियो भने त्यति आश्चर्य नहोला ।
शीर्षकमा उल्लेख भएको चौथो श्रीमान्को कुरा जेठी श्रीमतीले बताएकी हुन् । तीनजना महिलाको बारेमा त उनी आफैँले पनि बताइरहेकै छन् ।
करिब दुई वर्षअघि उनले आफ्नै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै भनेको थिए–
‘..के लेख्दियो भने चारवटा श्रीमती बिहा गरेको मान्छे भनेर बनाइदियो मलाई । ..अब जिन्दगीभरि मैले चारवटा स्वास्नीबाट मुक्ति पाउदिनँ ।.. अब मलाई चारवटा स्वास्नी बिहा गरेको बनाइसक्यो । अब.. मेरो एउटा विवाह बिग्रियो । त्यसबीचमा म लामो समय अलग बसेँ । त्यसबीचमा मेरो कुनै एउटा प्रेमिकासित सम्बन्ध हुन गयो, त्यो बीचमा आफ्नो एउटा बच्चा भयो, सकियो । त्यसपछि यहाँ आएँ, फर्किएँ । लामो समय बित्यो । त्यसपछि अहिले म आफ्नो जिन्दगीमा खुसी छु, ह्याप्पी छु, निकितासँग मेरो विवाह भयो । मेरो जिन्दगीमा भएको यही हो ।’
रविको यो भनाइले पनि कम्तीमा उनी तीनजना महिलासँग सम्बन्ध राख्नेमा पर्छन् । दुईजनासँग वैवाहिक सम्बन्ध नै भएको र एकजनासँग अनधिकृत भएको हो ।
‘त्यसबीचमा मेरो कुनै एउटा प्रेमिकासित सम्बन्ध हुन गयो, त्यो बीचमा आफ्नो एउटा बच्चा भयो, सकियो’ भनेर उनले जति सहजरूपमा भने यो सम्बन्धचाहिँ अनधिकृत नै थियो ।
यतिबेला उनको जोसँग वैवाहिक सम्बन्ध चलिरहेको छ, त्यो तेस्रो श्रीमतीको रुपमा छ भन्ने अझै प्रष्ट हुन्छ । पहिलो सम्बन्धमा दुई छोरी, दोस्रोमा एउटा छोरो तर अनधिकृत र तेस्रोमा हालसम्म सन्तानविहीन तेस्रो वैवाहिक सम्बन्ध रहेको छ ।
रविको बहुविवाहको आफैँले दाबी गरेका श्रीमतीहरुको उनी आफैँले बताएको विवरण हो यो । उनकै मुखले तीनजना श्रीमतीलाई उनले स्वीकारेको देखिन्छ, जसमा दुईजना महिलाबाट दुईजना छोरी र एकजना छोरा रहेको भनेर उनले नै बताएका हुन् ।
जेठी श्रीमतीको खुलासा
उनकी जेठी श्रीमतीले जस्तो जानकारी गराइन्, त्यो झनै निर्मम हुनुपर्छ । अनलाइनखबरको २०७५ पुस २२ को अंकमा रविकी जेठी श्रीमतीले त दशजनासँग नै सम्बन्ध रहेको जनाएकी छन् ।
‘म त डिभोर्सपछि चुपचाप अमेरिका फर्किएकी हुँ । तर, रवि लामिछानेजीको स्टाटस र अन्तर्वार्ता पढिसकेपछि आफ्नो तर्फबाट केही कुरा प्रष्ट पार्नुपर्ने आवश्यकता महसुस गरेकी छु’भन्दै उनले जस्तो जानकारी गराइन्, त्यो वास्तवमा नै दुःखद् मान्नुपर्छ ।
उनको भनाइ यस्तो छ– ‘सत्य हो, मैले लामो समय डिप्रेसनको औषधि खानुपर्यो । तर, म के कारणले डिप्रेसनमा परेँ त ? उहाँकै कारणले होइन ? आफ्नो श्रीमान्ले बाहिर १० जनासित सम्बन्ध राखेर अवैध सन्तान समेत जन्माउँदा कुन श्रीमती डिप्रेसनमा पर्दिन होला ? धन्न मैले छोरीहरुको मुख हेरेर आत्महत्या गरिनँ ।’
यसले पनि रवि खासगरी महिलाका सन्दर्भमा कति कमजोर थिए भन्ने देखिन्छ । जेठी श्रीमतीको ‘आफ्नो श्रीमानले बाहिर १० जनासित सम्बन्ध राखेर अवैध सन्तान समेत जन्माउँदा कुन श्रीमती डिप्रेसनमा पर्दिन होला ?’ भन्ने जुन प्रश्न छ, त्यो सामान्य होइन ।
यस्तो छ यी महिलाको वार्तामा आधारित पीडा– ‘यस्तै चल्दै थियो । एकदिन मैले बाहिरबाट सुनेँ कि उहाँको अमेरिकाको भिसा लाग्यो भनेर छक्क परेँ । उहाँले मलाई अमेरिकाको भिसा अप्लाई गरेको बताउनुभएकै थिएन । उहाँ अमेरिका उड्ने तीन दिन अगाडि मात्रै थाहा भयो । उहाँलाई सोध्दाखेरी ‘कार्यक्रममा जान लागेको हो’ भन्नुभयो । मैले यसलाई ठूलो इस्युका रुपमा लिइनँ ।
रविजी अमेरिका गएको भोलिपल्ट हाम्रो ल्यान्डलाइन फोनको घन्टी बज्यो । एक अपरिचित केटीले फोन गरेकी थिइन् । ‘ओई, तेरो पोई कहाँ गएको हो भन् ?’ फोन उठाउनासाथ उताबाट चर्को स्वरमा यस्तो आवाज आयो । म झसङ्ग भएँ ।
उस्तै कडा स्वरमा जवाफ दिएँ, ‘जहाँ गए पनि किन चाहियो तँलाई ? को होस् तँ ?’ उनले भनिन्, ‘तेरो पोईले मलाई धोका दिएर भाग्यो । उसले मबाट दुईवटा सन्तान जन्माएको छ । कहाँ गएको हो ? भनिनस् भने तिमीहरु आमाछोरीलाई किडन्याप गराइदिन्छु ।’
तर, उनले बारम्बार फोन गरेर टर्चर दिन थालिन् । धम्क्याउन थालिन् । त्यसपछि मैले आफ्नो माइतीका दाजुहरु र देवरलाई यो कुरा सुनाएँ । उहाँहरुले ल्यान्डलाइनमा कलर आईडी राखौँ भन्नुभयो ।
त्यसपछि दाइ र देवरले ती केटीलाई अफिसमा गएर भेट्नुभयो । अनि, चेतावनी दिनुभयो कि अब आइन्दा फोन गरिस् भने तेरो घरमा प्रहरी आउँछ । त्यो केटी डराइछ । त्यसपछि उसको फोन आएन । यो घटना यत्तिकै सामसुम भयो ।’
यी सबैपछि तिनै जेठी श्रीमतीले रविको तीनजनासँग विवाह र एकजनासँग प्रेमसम्बन्ध रहेको भनेर लेखेकी छन्– ‘मान्छेले जीवनमा गल्ती गर्छन् । तर, गल्ती महसुस गरेर आफूलाई सच्याउनु महानता हो । रविजी सम्भवतः चाँडै विवाह गर्दै हुनुहुन्छ । उहाँँको तेस्रो विवाह र चौथो प्रेम सम्बन्ध असफल नहोस् । म अझै पनि उहाँको प्रगति हेर्न चाहन्छु । पूर्वपत्नीको तर्फबाट यही शुभकामना छ कि उहाँको तेस्रो दाम्पत्य सम्बन्ध सफल र दीर्घायु होस् ।’