काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपाली कांग्रेसका एक नेताको सिफारिसमा अबौँ रुपैयाँ ठगी गरेको आरोप लागेका फरार अभियुक्तसँग भेटवार्ता गरेका छन् । गभर्नर छनोट समितिका सदस्य पदबाट राजीनामा दिएर आफैँ गभर्नर पद हत्याएका पौडेलले नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख समेत रहेका केन्द्रीय सदस्य मीन विश्वकर्माको सिफारिसमा फरार अभियुक्त शिव लामिछाने विश्वकर्मासँग गोप्य भेटवार्ता गरेका हुन् ।
शिव लामिछाने तिनै व्यक्ति हुन्, जो बराह बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताहरुको पाँच अर्ब ८३ करोड रुपैयाँ ठगी आरोपमा फरार छन् । उनी बराह ग्रुप अफ कम्पनीका मालिक हुन् । कांग्रेस नेता विश्वकर्माले समय मिलाइदिएर गभर्नर पौडेलसँग भेटवार्ता गरेपछि पनि उनको समस्याको गाँठो फुकेको छैन ।
बराह ज्वेलरी, बराह सहकारीलगायतका अनेकौँ कम्पनी खोलेर बिलासी जीवनशैली बिताउँदै आएका लामिछानेको धरान काठमाडौंदेखि हङकङसम्म व्यावसायिक साम्राज्य फैलिएको थियो । १३ वर्षअघि पाँचखालमा समातिएको १९ किलो सुन काठमाडौं आइपुग्दा प्रहरीले कार्यालयमा नौ किलो मात्र बुझाएर १० किलो सुन बराह ज्वेलरीमा लगेर बेचेको काण्ड सार्वजनिक भएपछि उनका पिताको काठमाडौंबाट हङकङ पुगेको भोलिपल्टै रहस्यमयी निधन भएको थियो ।
कुवेर सिंह राना आईजीपी हुँदा भएको उक्त घटनापछि बराह गु्रपको अधोगति सुरु भएको थियो । गभर्नर बनेपछि इमान्दारी र नैतिकताको पाठ सिकाउने गरी अन्तर्वार्ताका बाढी चलाएका गभर्नर पौडेलले आफ्नो अभिव्यक्तिलाई धेरै दिन टिकाउन सकेनन् र एक जना पार्टी नेताको सिफारिसमा अबौँ रुपैयाँ ठगीको आरोप लागेका एक फरार अभियुक्तसँग भेटवार्ता गरेर इमानजमान स्वाहा पारेका छन् ।
गभर्नर पौडेलसँगको भेटवार्ताले पनि आफूलाई कुनै राहत नदिएपछि भेष बदलेर सहरमा हिँडिरहेका फरार अभियुक्त लामिछानेले नै आफूले गभर्नर पौडेलसँग भेटवार्ता गरेको तर उनीबाट आश्वासनबाहेक केही नपाएको कुरा आफ्ना निकटस्थहरुलाई बताउँदै हिँडेपछि ‘एक कान दुई कान हुँदै मैदान’मा छताछुल्ल हुन पुगेको हो । चिनजानका आफन्तहरुसँगको संयोगको आकस्मिक भेटबाट उनका पीडा थाहा पाउने थोरै व्यक्तिहरु अहिले गभर्नर पौडेलका भनाइ एउटा गराइ अर्को अर्थात् दोहोरो चरित्रबाट आश्चर्यचकित भएका छन् ।

सहकारीको वचत हिनामिना गरि फरार रहेका उनी विरुद्ध गत फागुनमा अभियोग पत्र पेश भएको थियो । उनीसहित सहकारीका २ सय ६३ जना विरद्ध ठगीको मुद्दा छ । यो मुद्दामा उनी फरार सुचीमा छन् । फरार सूचीमा रहेका अभियुक्तसँग गभर्नरले भेट्नुले नेपाल राष्ट्र बैंकको गरिमा र ख्याती समेत खतरामा परेको छ । भेटको विषयमा सोधपुछका लागि गभर्नरका स्वकिय सचिव सरण अधिकारीलाई सम्पर्क गर्दा उनले आफूले बुझेर जानकारी दिने बताएका थिए । तर, हालसम्म उनी समेत यो घटना लुकाउन लागि परेका छन् ।
अभियुक्तको नाम र ठगी सम्बन्धी विवरण टिपेका उनले भेटघातको यथार्थ जानकारी माग्दा त्यो भने दिन सकेनन् । सुनसरीको धरानस्थित वराह बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताहरु ४ हजार ७ सय ७२ जनाबाट ५ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेपछि शिवसहितका २ सय ६३ जना अभियुक्त फरार छन् । फरार अभियुक्तको सूचीमा रहेका लामिछाने राजधानी काठमाडौंमा उच्चस्तिरिय भेटघाट गरिरहेका छन् । नेपाली कांग्रेसका नेताहरुलाई धरान जाँदा गाडी घोडा र होटलको बास समेत आफुले व्यवस्थापन गरेको भन्दै शिवले कांग्रेसबाट सहयोग मागिरहेका छन् । उनलाई कांग्रेसकै उच्चस्तरका नेताको साथ र समर्थन छ । ती नेताहरुका आफन्त समेत यो ठगी प्रकरणमा फरार रहेका छन् ।