काठमाडौं । उद्योग वाणिज्य महासंघ आईएफसी र युरोपियन युनियनको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले वातावरण र सामाजिक सुशासनसम्बन्धी एक कार्यक्रमको आयोजना गरेको छ ।
उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले वातावरण, पर्यावरण र सामाजिक सुशासन विश्व व्यावसायिक जगतमा महत्वपूर्ण बनिसकेको बताए । अध्यक्ष राउतले अहिलेको परिप्रेक्षमा लगानीकर्ताहरूले अब कम्पनी वा उद्योगको मूल्य नाफा र घाटामा मात्रै नभई सामाजिक उत्तरदायित्व र वातावरणीय प्रभावमा पनि ध्यान दिन जरुरी भएको बताए । महासंघ कोशी प्रदेशले विगत केही वर्षदेखि पर्यावरण र सामाजिक सुशासनको मर्मसँग मेल खानेगरी कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिए । प्रदेशका विभिन्न जिल्लामा रहेका साना मध्यम उद्योगदेखि विभिन्न जातजातिहरुले सञ्चालन गरेका उद्योगहरूको प्रवर्द्धनमा महासंघले विशेष जोड दिएको छ ।
महिलाद्वारा सञ्चालन गरिएका उद्योगलाई क्षमता विकास गर्न, नेपाली ढाका कपडा उत्सवको आयोजना, ग्रामीण क्षेत्रमा रहेका साना उद्योगहरूको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन, ब्रान्डिङ र क्षमता विकासका कार्यक्रमहरू महासंघले सम्पन्न गरेको अध्यक्ष राउतले जानकारी दिए । राउतले कोशी प्रदेशका विभिन्न जातजातिहरूले उत्पादन गरेका रैथाने उत्पादनहरूलाई विभिन्न महोत्सवमार्फत एउटै मञ्चमा ल्याएर प्रवद्र्धन गर्ने कार्यको सुरुवात गरेको समेत उल्लेख गरे ।
कार्यक्रममा आईफसीका यजस्वी श्रेष्ठले आईफसीको परिचय तथा नेपालमा सञ्चालित कार्यक्रमहरुको बारेमा र कार्यक्रमको उद्देश्यका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । आईएफसीका लोपा रहमान र सोफिया टामोटले पनि व्यावसायिक सुशासन महत्व र वातावरणमा सामाजिक चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । यसरी कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रमाथि मोरङ उद्योग व्यापार संघका उपाध्यक्षले उद्योगहरुको अवस्थाको बारेमा जानकारी गराएका थिए । सहभागीहरुले आईएफसीले नेपालमा गर्ने लगानी तथा प्रक्रियाका बारेमा प्रश्न गरेका थिए ।