नयाँदिल्ली । भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्नेछ । एएफपीका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो राष्ट्रलाई चिप नवप्रवर्तनका लागि भविष्यको ‘ग्लोबल हब’ का रूपमा प्रस्तुत गर्दै मंगलबार यसबारे घोषणा गरेका हुन् ।
नयाँदिल्लीमा आयोजित वार्षिक ‘सेमिकन इन्डिया सम्मेलन’ को उद्घाटन समारोहमा बोल्दै मोदीले माइक्रोन र टाटाको परीक्षण चिप उत्पादन भइसकेको जानकारी दिए ।
‘व्यावसायिक चिप उत्पादन यसै वर्ष सुरु हुनेछ’, उनले भने, ‘यसले सेमिकन्डक्टर क्षेत्रमा भारत कति तीव्र गतिमा अघि बढिरहेको छ भन्ने देखाउँछ ।’ भारतको सेमिकन्डक्टर बजार सन् २०२३मा ३८ अर्ब डलर थियो । यो २०२४–२०२५मा बढेर ४५ देखि ५० अर्ब डलर पुगेको छ । सरकारले सन् २०३० सम्म एक खर्ब देखि एक खर्ब १० अर्ब डलरको लक्ष्य लिएको छ ।
देशले हाल १८ अर्ब डलरको लगानीमा १० सेमिकन्डक्टर परियोजनाहरू विकास गरिरहेको छ, जसमा नोएडा र बेङ्गलुरुस्थित दुईवटा नयाँ ३–न्यानोमिटर डिजाइन सुविधा पनि पर्छन् ।
‘हाम्रो यात्रा ढिलो सुरु भए पनि अब हामीलाई कसैले रोक्न सक्दैन’, मोदीले थपे । भारतको तीन क्षेत्रमा विशेष प्रभुत्व रहेको बताइएको छ—सेमिकन्डक्टर उपकरणका लागि कम्पोनेन्ट उत्पादन, रसायन र खनिज जस्ता महत्वपूर्ण सामग्री आपूर्ति र अनुसन्धान तथा विकासदेखि आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा र क्लाउड कम्प्युटिङसम्मका सेवा प्रदान । विश्वको सबैभन्दा बढी जनसंख्या भएको राष्ट्रले ‘मानव पुँजी’लाई आफ्नो ठूला शक्तिमध्ये एक भएको दाबी गरेको छ । मोदीका अनुसार सेमिकन्डक्टर डिजाइन क्षेत्रमा विश्वव्यापी प्रतिभाको २० प्रतिशत भारतमै छ । गत हप्ताको टोकियो भ्रमणका क्रममा जापानले सेमिकन्डक्टर र एआई सहयोगमा लगानी बढाउँदै भारतमा एक सय खर्ब येन (६८ अर्ब डलर) पु¥याउने वाचा गरेपछि मोदीले यो घोषणा गरेका हुन् ।
विश्वको पाँचौँ ठूलो र तीव्र गतिमा बढ्दो अर्थतन्त्र भारत अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ५० प्रतिशत करको दण्डबाट प्रभावित भएको छ र विकासका नयाँ बाटो खोजिरहेको छ ।