टोकियो । कमजोर डलर र अमेरिकी ब्याजदर कटौतीको अपेक्षाले लगानीकर्ताहरूलाई सुरक्षित आश्रयतर्फ मोड्न बाध्य बनाएपछि मंगलबार सुनको मूल्य ऐतिहासिक रेकर्ड उचाइमा पुगेको छ ।
यसैबीच, वाल स्ट्रिट श्रम दिवसका लागि सोमबार बन्द रहेकाले लगानीकर्ताहरू नयाँ दिशाको प्रतीक्षामा रहँदा सेयरबजार मिश्रित अवस्थामा देखिएको छ । एसियाको प्रारम्भिक कारोबारमा सुन प्रतिऔँस ३,५०१.५९ डलरसम्म उक्लिएको थियो । जुन अप्रिलमा बनेको अघिल्लो रेकर्ड ३,५००.१० डलरभन्दा माथि हो ।
‘यो बढ्दो ¥यालीले नरम डलर मात्र नभई, केन्द्रीय बैंक र संस्थागत लगानीकर्ताहरूको बलियो मागलाई पनि देखाउँछ, जसले अमेरिकी कोष विभागहरूबाट आफ्नो लगानी हटाइरहेका छन्’, स्विसकोट बैंककी इपिक ओजकार्डेस्कायाले भनिन् । उनका अनुसार विदेशी केन्द्रीय बैंकहरूले अमेरिकी कोष विभागमा गर्ने लगानी एक दशकभन्दा बढी समयदेखि घटिरहेको थियो । तर अमेरिकी ऋणप्रति बढ्दो चिन्ता, मूल्यांकनमा गिरावट, व्यापार तनाव र भू–राजनीतिक जोखिमका कारण यस वर्ष ठूलो मात्रामा सुनतर्फ मोडिएको छ ।
इक्विटी बजारमा टोकियो, सियोल र जकार्ता उकालो लाग्दा हङकङ र सांघाई प्रारम्भिक लाभपछि तल झरे । ह्याङसेङमा अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) राजस्वको वृद्धि र बम्पर नतिजापछि एक दिनअघि करिब २० प्रतिशतसम्म उछाल पाएको थियो । तर लगानीकर्ताहरूले मुनाफा सुरक्षित गर्न खोज्दा मंगलबार केही गिरावट आएको थियो ।
‘अमेरिकी प्रविधि दिग्गजहरूले एआई मुद्रीकरण र उच्च मूल्यांकनबारे बढ्दो प्रश्नहरूको सामना गरिरहेका छन् । तर चिनियाँ कम्पनीहरूले भने एआई र क्लाउड सेवाबाट वास्तविक आय वृद्धि देखाइरहेका छन्’, स्याक्सो मार्केटका चारु चानानाले भने ।
यसैबीच, अवैध लागुऔषध अनुसन्धानसँग जोडिएकी पेयपदार्थ निर्माता कम्पनी सनटोरीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को राजीनामाले जापानी कर्पोरेट जगतलाई स्तब्ध पारेको छ । तेल बजारमा भने अक्टोबरको उत्पादनबारे निर्णय गर्न ओपेक प्लसको आगामी सप्ताहान्त बैठकअघि मूल्य बढेको छ । कार्टेलले आपूर्ति अपरिवर्तित राख्ने अपेक्षा गरिएको छ । रासस/एएफपी