बेइजिङ (चीन) । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली बुधबार स्वदेश प्रस्थान गरेका छन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही भदौ १४ गते त्यसतर्फ गएकामा भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई चिनियाँ उच्च अधिकारीहरू, नेपालका लागि चीनका राजदूत र चीनका लागि नेपाली राजदूतलगायतले बेइजिङस्थित अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गरे । साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ गते चीनको तियान्जिनतर्फ प्रस्थान गरेका थिए । बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक परेड कार्यक्रममा समेत उनी बुधबार सहभागी भएका थिए ।
प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चीनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनलगायत विश्वका नेताहरूसँग भ्रमणका क्रममा छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । उनले यही भदौ १६ गते तियान्जिनमा आयोजना भएको शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ ।
प्रधानमन्त्री ओलीसँग उनीका धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद छविलाल विश्वकर्मालगायत उच्चस्तरीय सरकारी अधिकारीहरू रहेका छन् ।