विराटनगर । राजस्व अनुसन्धान कार्यालय सुनसरीका कार्यालय प्रमुखसहितका केही कर्मचारीहरुलाई गत हप्ता नै सरकारले सरुवा गरिसकेको छ । तर सरुवा भइसकेपछि पनि उनीहरुले व्यावसायिक प्रतिष्ठानहरुमा छापा मार्ने गरेको छ ।
कोशी प्रदेशको राजधानी विराटनगरसहित सुनसरीको धरान र इटहरी, झापाको बिर्तामोड, दमक र धुलावारी बजारमा राजस्व कार्यालय सुनसरीको आतंक चलेको गुनासो व्यवसायीबाट आउन थालेका छ । चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले दुई वर्षभित्र कानुन निर्माण गरी राजस्व अनुसन्धान विभाग खारेज गर्ने घोषणा गरेका थिए । उक्त घोषणा गरेको दुई महिना बित्न नपाउँदै केही दिनदेखि कोशी प्रदेशका व्यावसायिक प्रतिष्ठानमा राजस्वको छापा आतंक चलेको सार्वजनिक भएको छ । राजस्व छली, दोहोरो बिलविजक जारी, स्टिमेट बिलको भरमा व्यावसायिक कारोबारजस्ता आरोप लगाएर राजस्व अनुसन्धानले व्यावसायिक प्रतिष्ठान र माल ढुवानीको ट्रान्सपोर्ट अफिसहरुमा छापा मारेको हो । दशैँको पूर्वसन्ध्यामा व्यावसायिक प्रतिष्ठानमा राजस्वको छापाले आशंका समेत उब्जेको छ ।
राजस्व अनुसन्धान सुनसरीका प्रमुख अनुसन्धान अधिकृत उत्तम कुमार घिमिरेको निर्देशनमा ढुवानीको सामान बोकेर अन्य गन्तव्य गएको ट्रान्सपोर्टको गाडीलाई तीन दिनसम्म राजस्व अनुसन्धानले रोकेर राखेको थियो । तर कुनै कारबाही भने नगरेको जनाइएको छ । राजस्व अनुसन्धान कार्यालय सुनसरी र प्रमुख घिमिरेले माफिया र बिचौलियाको आदेश पालना गदै व्यवसायीलाई राजस्व अनुसन्धानले कमाउने अस्त्रका रुपमा लिएको स्रोतले दाबी गरेको छ । सरुवा भएका प्रमुख घिमिरेले पछिल्लो समय सुन व्यवसायीदेखि ढुवानी व्यवसायीसम्मबाट बिचौलियामार्फत असुली थालेका छन् ।