काठमाडौ । प्रविधि तथा गुण नियन्त्रण विभागले सरकारी सेवालाई अनलाइनबाट प्रदान गर्ने रणनीतिअन्तर्गत खाद्य उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा अबदेखि अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने भएको छ ।
विभागले यसको लागी ‘नेपाल फुड एन्ड फिड इन्डस्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । सो अनलाइन प्रणालीको बारेमा विभागले खाद्य उद्योगीहरुलाई मंगलबार अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरेको थियो । कार्यक्रममा ७० भन्दा बढी उद्योगीहरु सहभागी भएको विभागले जनाएको छ ।
कार्यक्रममा विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले यो प्रणाली सञ्चालनमा आएसँगै खाद्य उद्योगीहरुलाई सहज हुने बताए । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा २६(ठ) बमोजिम विभागले प्रवाह गर्ने सेवा प्रभावकारी ढङ्गले प्रवाह गर्न आवश्यकताअनुसार विद्युतीय प्रणाली विकास गरी प्रयोगमा ल्याउने व्यवस्था रहेको छ । ऐनको दफा ८ मा रहेको खाद्य उद्योग दर्ताको सिफारिस, दफा ९ को खाद्य उद्योगले अनुमतिपत्र तथा दफा १० बमोजिम खाद्य उद्योगको अनुमतिपत्र मान्य अवधि र नवीकरणलगायतको सेवा अब अनलाइनमार्फत हुने उनले बताए ।
यस प्रणाली ‘पेपरलेस’ र ‘फेसलेस’ हुने उल्लेख गर्दै महानिर्देशक कर्णले उद्योगी व्यवसायीहरुले घर/अफिसमै बसेर लगइन आईडी क्रियट गरी उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी र नविकरणको लागि आवश्यक कागजातहरु भर्न सकिने बताए । सेवाग्राहीले आफ्नो आवेदनको स्थिति सजिलै इमेलमार्फत जानकारी पाउनेछन् । विभागले यस प्रणालीलाई विभाग र हेटौँडा कार्यालयबाट सञ्चालनमा ल्याएको छ । अन्य कार्यालयहरुबाट पनि क्रमशः सेवा सञ्चालनमा ल्याउने विभागले जनाएको छ । विभागका अनुसार नेफिल्स प्रणालीले कामलाई छिटो, छरितो, सहज र पारदर्शी बनाउने छ ।