काठमाडौं । ओमस्टोन होटेल्स लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । मंगलबार एक समारोहबीच ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिर्सोट) र सिटिजन्स क्यापिटलबीच साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा ओमस्टोन होटेल्सको तर्फबाट अख्तियार प्राप्त प्रबन्ध निर्देशक रमेशकुमार हमाल र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सिटिजन्स क्यापिटलले दुसित थानी हिमालयन रिर्सोट (ओमस्टोन होटेल्स लिमिटेड)को प्राथमिक सेयर सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकका कार्य गर्नेछ । उक्त समारोहमा संस्थापकको तर्फबाट प्रमुख विदेशी लगानीकर्ता विष्णु मोरको उपस्थिति रहेको थियो । सन् २०२३को चौथो त्रैमासिकदेखि सञ्चालनमा आएको दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलमा अवस्थित छ । हिमालय र उपत्यकाको मनोरम दृश्यहरूसहितको पहाडको शिरमा रहेको दुसित थानी हिमालयन रिर्सोट अन्तर्राष्ट्रिय ब्रान्डको संरचना र प्रविधि मापदण्डमा निर्मित छ । राष्ट्रको हाई भ्यालु टुरिजम लक्ष्य प्राप्तिको लागि रिसोर्टले उत्प्रेरकको रूपमा काम गर्ने लक्ष्य राखेको छ ।
अन्तर्राष्ट्रिय आतिथ्य श्रृंखला ब्रान्ड दुसित थानीले नेपालसहित विभिन्न १८ वटा देशमा आतिथ्य सेवा प्रदान गर्दै आइरहेको छ र नेपालमा दुसित थानी हिमालयन रिसोर्ट (ओमस्टोन होटेल्स लिमिटेड)ले यसको प्रतिनिधित्व गरेको छ । राजधानी काठमाडौंबाट करिब ३८ किमिमा रहेको दुसित थानी हिमालयन रिर्सोटमा शान्तपूर्ण तथा रमणीय वातावरणमा विभिन्न संघ–संस्थाहरुले आफ्नो सम्मेलन, सेमिनार तथा कार्यक्रमहरु पनि गर्नेगरेका छन् ।
सिटिजन्स क्यापिटलले वित्तीय परामर्श लगानी व्यवस्थापन र म्युचुअल फन्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । सिटिजन्स क्यापिटलमा अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी सबिरबादे श्रेष्ठ रहेका छन् । नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटलमा सिटिजन्स बैंक र कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सहलगानी रहेको छ ।