काठमाडौं । पहाडकी रानी भनेर चिनिने तनहुँको बन्दीपुरलाई पर्यटनको केन्द्रविन्दु बनाउन बन्दीपुर इन काठमाडौं कार्यक्रम सम्पन्न गरिएको छ । बन्दीपुर भ्रमण वर्ष २०२५ अन्तर्गत ‘बन्दीपुर इन काठमाडौं’ विशेष कार्यक्रमको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए ।
क्षेत्रीय होटल संघ तनहुँ, बन्दीपुर बजार इकाईको आयोजना, बन्दीपुर गाउँपालिकाको संरक्षण र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा भएको कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञ, व्यवसायी, स्थानीय प्रतिनिधि, समाजसेवीले सहभागिता जनाएका थिए । कार्यक्रममा अर्थमन्त्री पौडेलले बन्दीपुर नेपालको सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यको अनुपम धरोहर भएको बताए । बन्दीपुरको परम्परागत बस्ती र ऐतिहासिक स्वरुपलाई जोगाउन सकिए मात्र बन्दीपुरको वास्तविक आकर्षण कायम रहने उनको भनाइ थियो । बन्दीपुरलाई पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन सकिए यसले राष्ट्रिय अर्थतन्त्रलाई समेत बल पुर्याउने उनले बताए ।
कार्यक्रमका संयोजक आशुतोष प्रधानले बन्दीपुरको पर्यटकीय सम्भावना र भविष्यका रणनीतिहरु समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । उनले बन्दीपुरलाई प्राकृतिक र सांस्कृतिक मिश्रणसहितको अद्वितीय पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने बताए । आगामी २० वर्षमा बन्दीपुरमा पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउन पूर्वाधार, दिगो पर्यटन, वातावरण संरक्षण र अन्तर्राष्ट्रिय बजारमा सक्रिय प्रचार–प्रसारलाई जोड दिनुपर्ने उनको भनाइ थियो ।
सो अवसरमा बन्दीपुरको विकासमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठलाई बन्दीपुर टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पियालाई बन्दीपुर हेल्थ लाइफटाइम अचिभमेन्ट अवार्ड, तथा समाजसेवी एवम् शिक्षाविद् चिजकुमार श्रेष्ठलाई बन्दीपुर एजुकेसन लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले स्थानीय सरकारको तर्फबाट पूर्वाधार विकासलाई प्राथमिकता दिँदै बन्दीपुरलाई आकर्षक गन्तव्य बनाउन निरन्तर पहल गरिने बताए । उनले सडक, खानेपानी, सरसफाइ र पर्यटकमैत्री वातावरण निर्माणका कामलाई तीव्रता दिने जानकारी दिए । क्षेत्रीय होटल संघ तनहुँ, बन्दीपुर बजार इकाईकी अध्यक्ष फूलमति थापाले भ्रमण वर्ष २०२५ अन्तर्गत बन्दीपुरले देश–विदेशका पर्यटकलाई स्वागत गर्न तयार रहेको बताइन् । बन्दीपुरका होटल व्यवसायी, स्थानीय बासिन्दा र सरोकारवाला निकाय सबै मिलेर बन्दीपुरलाई अझ आकर्षक बनाउन लागिपरेको थापाको भनाइ छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले बन्दीपुरलाई पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्रको रुपमा प्रस्तुत गर्दै यसको प्रवद्र्धनका लागि बोर्डले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
समुद्र सतहदेखि करिब एक हजार ३० मिटर उचाइमा अवस्थित बन्दीपुर ऐतिहासिक नेवार बस्ती, परम्परागत घर, साँघुरा गल्ली, सांस्कृतिक सम्पदा र प्राकृतिक दृश्यावलोकनका कारण ‘पहाडकी रानी’ भनेर चिनिन्छ । हिमाल, पहाड, सांस्कृतिक पर्व, गुफा तथा पदयात्रा मार्गका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो छ ।