भादगाउँ । आजदेखि भक्तपुरमा परम्परागत इन्द्रजात्रा सुरु भएको छ । इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो यहाँका टोलटोलमा ठड्याइएको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेपाल भाषामा यम्वोःद्यो भनिन्छ ।
देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो । पारिजात खोज्ने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरुले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ गरे । जयन्तलाई छुटाउन देवता र दैत्यहरुबीच भएको युद्धमा देवताको जित भएको खुशियालीमा इन्द्रजात्रा मनाउन थालिएको किवंन्दती भएको संस्कृतिकर्मी ओम धौभडेलले जानकारी गराएका छन् ।
भक्तपुरमा आठ दिनसम्म मनाइने यो जात्रा पूजाआजासहित बिहीबार भक्तपुरको इताछे, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछेँ, सुजम्हरी, खौमा, इताछेँलगायत टोलमा ‘यम्वो द्यो’ ठड्याइएको छ ।