काठमाडौं, नेपाल दूरसञ्चार प्राधिकरणले नेपालभित्र सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई तत्काल बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको छ।प्राधिकरणले बिहीबार जारी गरेको विज्ञप्तिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८२ भदौ १९ गतेको मन्त्रीस्तरीय निर्णय र सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन आदेश दिइएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “नेपालभित्र सञ्चालनमा रहेका तर सूचीकरण नगरेका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालमा निष्क्रिय गराउन निर्णयानुसार सबै इन्टरनेट सेवा प्रदायकलाई जानकारी गराइएको छ।”सूत्रका अनुसार, सूचीकरण नगरेका सामाजिक सञ्जालले कानुनी दायित्व पूरा नगरेकाले यो कदम चालिएको हो। प्राधिकरणले सूचीकरण नगरी सञ्चालनमा रहेका प्लेटफर्महरूलाई सूचीमा दर्ता गराउन पुनः आग्रह गरेको छ। यस निर्णयसँगै नेपालमा २६ वटा लोकप्रिय सामाजिक सञ्जाल अब बन्द हुनेछन् भने सूचीकरण गरेका प्लेटफर्महरू भने यथावत सञ्चालनमा रहनेछन्।