काठमाडौं । बाँके कोहलपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा निर्माण व्यवसायीले तालाबन्दी गरेका छन् ।
उक्त कार्यालयको सुविधा सम्पन्न भवनको निर्माण कार्य निर्माण कम्पनीले पूरा गर्दा समेत भुक्तानी नभएपछि कार्यालयमा तालाबन्दी गरिएको निर्माण कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कुल पाँच करोड ४८ लाख ८५ हजारमा उक्त कार्यालयको निर्माण कार्य पूरा भएको थियो । भवन निर्माणको एक वर्ष भइसक्दा समेत सम्बन्धित निर्माण कम्पनीले पाउनुपर्ने एक करोड भुक्तानी नभएपछि बिहीबार निर्माण कम्पनीले तालाबन्दी गरेको हो । निर्माण व्यवसायी संघ बाँकेका अध्यक्ष लिलाराज उपाध्यायको नेतृत्वमा कार्यालयमा तालाबन्दी गरिएको थियो । यसैबीच, नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले बिहीबार विज्ञप्ति जारी गर्दैै निर्माण व्यवसायी संघ बाँकेको नेतृत्वमा गरिएको तालाबन्दीप्रति पूर्ण ऐक्यबद्धता रहेको बताएका छन् ।