काठमाडौं । एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट प्राप्त गर्नेछन् । एनएमबि बैंक र बुटवलस्थित बुटवल हस्पिटल प्रालिबीच सम्पन्न भएको सम्झौताबमोजिम सो छुट प्रदान गर्न लागिएको हो ।
सम्झौताअनुसार एनएमबि बैंकका कर्मचारी/परिवार एवं ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउनेछन् । हस्पिटलले प्रदान गर्ने सेवाहरु बेड चार्ज, ल्याब टेस्ट, अप्रेसन चार्ज, यूएसजी, ईसीजी, इको, एक्सरे, फिजियोथ्रापी र मेडिसीनमा एनएमबि बैंकका कर्मचारी, परिवार र ग्राहकले पाँचदेखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
सम्झौताले बैंक कर्मचारी, परिवार तथा ग्राहकहरुलाई उपचारको क्रममा राहत हुने बैंकले विश्वास लिएको छ । सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नुप्रसाद पौडेलले संयुक्तरूपमा हस्ताक्षर गरेका छन् ।
छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानीको लागि एनएमबि बैंकको एटीएम, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैकिङ, कर्पोरेट–पे, आईपीस, क्यूआर कोड प्रयोग गर्नुपर्नेछ । बैंकले हाल देशभर दुई सय दुईवटा शाखाहरु, एक सय ८७ वटा एटीएमहरु र नौवटा एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।