काठमाडौँ । निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पण गरेकी मदर टेरेसाको स्मरण गर्दै शुक्रबार अन्तरराष्ट्रिय परोपकार दिवस विश्वका विभिन्न मुलुकमा परोपकारी गतिविधिका साथ मनाइँदै छ ।
यो दिवस सन् २०१२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा मनाउन प्रारम्भ भएको हो । असमानता, गरिबी र विविध ढङ्गका पीडाबाट ग्रसित समुदायका सदस्यलाई सहयोग गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।
पारदर्शी ढङ्गले निर्धनलाई सहयोग, युवा नेतृत्व विकास, विभेदरहित जिम्मेवारपूर्ण दानलगायत परोपकारी गतिविधि सञ्चालन तथा जलवायु एवं गरिबीका कारण गाँस, बास र कपासको व्यवस्था नभएकाहरुलाई उदार मनले मद्दत गर्न उक्त विश्व संस्थाले जोड दिएको छ ।