ललितपुर। कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीले ठक्कर दिएकी ११ वर्षीया बालिका अस्पतालबाट डिस्चार्ज भएकी छन्।नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन आएका प्रदेशमन्त्री राना सवार गाडीले शनिबार बिहान ललितपुरको हरिसिद्धि घुम्तीमा ती बालिकालाई ठक्कर दिएको थियो। ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा सहभागी हुन आएका रानाको गाडीले बालिकालाई ठक्कर दिएर रोकिए बिना अघि बढेको भन्दै आलोचना भएको छ। साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाएको भन्दै जनताले आलोचना गर्दै आएका बेला, सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि एमालेले बालिकाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने जनाएको हो। प्रहरीका अनुसार, घाइते बालिकाको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचार गरिएको थियो। ठूलो चोटपटक नलागेकाले अवस्था सामान्य भएको र उनलाई अस्पतालबाट घर फर्काइएको जानकारी प्राप्त भएको छ ।