काठमाडौं , सुरक्षण मुद्रण केन्द्रले छाप्ने ३० लाख प्रति सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ फेरि ढिलो हुने भएको छ। असार मसान्तदेखि छपाइ सुरु गर्ने लक्ष्यसहित जेठमा यातायात व्यवस्था विभाग र केन्द्रबीच सम्झौता भए पनि हालसम्म नियमित छपाइ सुरु हुन सकेको छैन। केन्द्रले लाइसेन्स छपाइको समयसीमा असारबाट असोज १ गतेसम्म सारिएको जनाएको छ। लाइसेन्सको नमुना प्रिन्ट विभागलाई दिइए पनि अझै स्वीकृति नपाएकाले नियमित छपाइ असोजदेखि सुरु हुने तयारी गरेको पाइएको छ । “
सम्झौताअनुसार, यातायात व्यवस्था विभागमा वर्षौंदेखि छपाइ पर्खिरहेका ३० लाख स्मार्ट लाइसेन्स केन्द्रमार्फत छापिने छन्। केन्द्रले उपलब्ध मेसिनमै छपाइ गर्ने तयारी गरेको छ। दैनिक करिब ३,००० प्रति र मासिक १ लाख प्रति लाइसेन्स छपाइ हुने योजना केन्द्रको रहेको छ। हाल यातायात व्यवस्था विभागले अत्यावश्यक लाइसेन्स मात्र छाप्दै आएको छ।
डिजिटाइजेसनमा पनि ढिलाइ
२०७२ सालमा स्मार्ट लाइसेन्स प्रणाली लागू भए पनि पूर्णरूपमा कार्यान्वयनमा ढिलाइ भइरहेको छ। नागरिक एपमा लाइसेन्स संलग्न गरेर छुट्टै कार्ड प्रिन्ट नगर्ने व्यवस्था बने पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।त्यस्तै, सवारीसाधन अभिलेखीकरण (डिजिटाइजेसन) प्रक्रियामा पनि प्रगति सुस्त छ। श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरेको डिजिटाइजेसन पाँच महिनामा जम्मा १ लाख ५४ हजार ८९६ सवारीमा मात्र पूरा भएको छ। बागमतीमा करिब २२ लाख सवारीसाधन रहेकाले वर्तमान गतिमा दुई वर्षभित्र लक्ष्य पूरा गर्न कठिन हुने देखिन्छ।
मन्त्रालयका स्रोतका अनुसार, सुरुका तुलनामा अहिले काममा गति आएको भए पनि थप जनशक्ति आवश्यक छ। एकीकृत विद्युतीय अभिलेख प्रणाली लागू भएपछि कर चुक्ता, कागजात व्यवस्थापन, अनलाइन डाटा र पुराना सवारीसाधनको व्यवस्थापन सजिलो हुने मन्त्रालयको दाबी छ।प्रदेश सरकारले काठमाडौं उपत्यकाका यातायात कार्यालयमा तीन वटा नयाँ मेसिन जडान गरिसकेको छ। यातायात सेवा कार्यालय एकान्तकुनाका अनुसार, दसैँलगत्तै उपत्यकामा स्मार्ट लाइसेन्स छपाइ र वितरण सुरु गर्ने योजना बनाइएको छ।