काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले भदौ २२ गतेदेखि अवितरित हकप्रद सेयर लिलामी बिक्री खुला गर्न लागेको हो ।
यसअघि कम्पनीले गत असार २५ गतदेखि साउन २० गतेसम्म एक बराबर शून्य दशमलव ४२ प्रतिशतको अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद सेयर बिक्री गरेको थियो । तर उक्त अवधिमा निष्काशन गरेको मध्ये केही सेयरमा आवेदन नपरेपछि आवेदन नपरेको हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहको तीन लाख २८ हजार चार सय ७३ दशमलव ९१ कित्ता र ३० हजार ३८ दशमलव ५७ कित्ता संस्थापक समूहकको अवितिरत हकप्रद सेयर लिलाम बिक्री गर्न लागेको हो ।
कम्पनीका अनुसार यो सेयर खरिदका लागि इच्छुक लगानीकर्ताले भदौ २९ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । सेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । बोलकबोल पेस गर्दा साधारण सेयरमा न्यूनतम एक सय कित्ता र संस्थापक सेयरमा एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकका ठिमी, कुमारिपाटी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्ट्रनगर, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।