काठमाडौं । ग्लोबल मोबिलिटी एन्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले ‘सेफ्टी फर्स्ट’ तालिम सम्पन्न गरेको छ । यात्रु सुरक्षाप्रति आफ्नो प्रतिबद्धता अझ प्रस्ट पार्न फाइटब्याक नेपालसँगको सहकार्यमा सम्पन्न सो तालिममा एक सयभन्दा बढी मोटरसाइकल र ट्याक्सी चालक सहभागी थिए ।
कार्यक्रम फाइटब्याक नेपालका संस्थापक विक्रान्त पाण्डेले सञ्चालन गरेका थिए । उनले चालकहरूलाई दैनिक जीवनमा देखापर्ने चुनौतीपूर्ण परिस्थितिलाई सामना गर्ने व्यावहारिक सीप सिकाएका थिए । तालिममा यात्रुलाई सम्मान र सुरक्षा प्रदान गर्ने, चालकहरुले व्यावसायिक आचरण र शिष्टाचारलाई व्यवहारमा उतार्ने, असहज वा संवेदनशील परिस्थितिमा प्रभावकारी ढङ्गले प्रतिक्रिया जनाउनेजस्ता कुराहरु सिकाइएको थियो । उक्त तालिम इनड्राइभको ‘सेफ्टी फस्र्ट’ भन्ने मूल सिद्धान्तलाई जोड दिँदै इनड्राइभलाई अझ सबल र विश्वासिलो प्लेटफर्मका रूपमा स्थापित गर्न लक्षित थियो । फाइटब्याकको बीएचभी नमुना प्रयोग गरी गरिएको छलफल, अभ्यास र व्यावहारिक सुरक्षा प्रशिक्षणमार्फत चालकहरूलाई प्रत्यक्ष काम लाग्ने सीप प्रदान गरिएको थियो ।
तालिम पूरा गर्ने चालकहरूले प्रमाणपत्रसहित ‘भेरिफाइड ड्राइभर ब्याज’ पनि प्राप्त गरेका थिए । इनड्राइभले आफ्नो प्लेटफर्ममा सुरक्षा, विश्वास र सम्मानलाई केन्द्रमा राखेको छ । यो तालिमले इनड्राइभलाई ‘सेफ्टी फर्स्ट, पिपुल पावर्ड प्लेटफर्म’को रूपमा पुनः स्थापित गरेको छ, जहाँ चालक र यात्रु दुवै सुरक्षित र महत्वपूर्ण महसुस गर्छन् ।