काठमाडौं । पतञ्जलि भ्रष्टाचार प्रकरणमा संलग्न ठहरिएका ह्यात होटल र याक एन्ड यतीका सञ्चालक अरुण सर्राफसहित पाँच जनाको ठेगाना नभेटिएको भन्दै विशेष अदालतले सार्वजनिक सूचना जारी गर्ने आदेश दिएको छ। आइतबार विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले म्याद तामेल नभएपछि सर्राफसहितका पाँच जनाको नाममा सार्वजनिक सूचना जारी गर्न आदेश दिएको हो। अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, ठेगाना नभेटिएका व्यक्तिहरूमध्ये अरुण सर्राफसँगै गान्धीप्रसाद सुवेदी, शिवहरि शर्मा सुवेदी, नीता प्रधान र अमित श्रेष्ठ पनि परेका छन्। रेग्मीले बताए अनुसार, यो प्रकरणमा ९३ जनाविरुद्ध मुद्दा दायर भएकोमा ८७ जनाले म्याद तामेल गरिसकेका छन्। तीमध्ये अधिकांशले अदालतमा उपस्थित भएर बयान समेत दिएका छन्। विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियाले अभियोग पत्रमा उल्लिखित ठेगानामा खोजी गर्दा सर्राफलगायत पाँच जना नभेटिएका कारण सार्वजनिक सूचना प्रकाशित गर्ने आदेश भएको जानकारी दिएका छन्। यस प्रकरणका मुख्य अभियुक्तहरू मध्ये पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पतञ्जलीका नेपाल प्रमुख शालिग्राम सिंह, पूर्वमन्त्री प्रेमबहादुर सिंहलगायतका केही व्यक्ति अदालतमा उपस्थित भइसकेका छन्। माधवकुमार नेपाल र शालिग्राम सिंहले जनही ३५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् भने पूर्वमन्त्री सिंहले ५० हजार रुपैयाँ धरौटी बुझाइसकेका छन्