काठमाडौं । कुनै समय भौतिक सुख र सुविधा त्यागेर मानिसहरु सन्यासी र भिक्षु बनेका प्रशस्त उदाहरणहरु छन् । तर, हिजो आज भौतिक सुविधा र अलिसान महल तथा अकुत सम्पत्तिका लागि भिक्षु आवरण लगाउने गरेका विभिन्न नामधारी गुरुहरु व्याप्त छन् । यस्तै, अकुत सम्पत्तिका मालिक हुन् श्याल्पा तेन्जिङ रिम्पोछे ।
आफूलाई विश्व शान्तिको दूत बताउने रिम्पोछे काठमाडौंको कपन हाइटमा २२ रोपनी क्षेत्रमा फैलिएको कुनै तारे होटलभन्दा सुविधा सम्पन्न आलिसान निवासमा बस्छन् । अमेरिकन नागरिक समेत रहेका उनको धन्दा शंकास्पद मात्रै छैन, आम्दानी समेत त्यस्तै रहस्यमयी छ ।
उनीविरुद्ध अर्बौँको अकुत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लामो समयदेखि उजुरी परेको छ । तर, शक्तिको आडमा उनीमाथि छानबिन भने हुन सकेको छैन । विभिन्न दलका नेतालाई निवासमै बोलाएर चियापान गराउने रिम्पोछेको कपनस्थित स्याल्पा गुम्बा तथा तेन्जिङ हिमालय फाउन्डेसन समेत छ । सोही फाउन्डेसनको अध्यक्ष रहेका उनले शंकास्पद लगानी गरेका छन् ।
रिम्पोछेले ताइबान, हङकङ, बैंकक, सिंगापुरबाट गुम्बा र होटल बनाउने भनेर अरबौं रकम नेपाल भित्र्याएका छन् । केही होटलमा उनको शंकास्पद लगानी छ । ताइवान, सिंगापुर र बैंकक गरी तीन देशमा ‘वेन चेंङ कङ्ग झयू’ नामको इन्टरनेसनल फाउन्डेसन सञ्चालनमा छ । जसबाट नेपालमा गुम्बा र होटल निर्माण गर्नका लागि भनेर रिम्पोछेले रकम जम्मा गर्ने र अवैध हुन्डीमार्फत् नेपाल ल्याएर विभिन्न व्यक्तिको नाममा जग्गा र गाडी खरिददेखि होटलहरुमा लगानी गरेको विभागकै अनुसन्धानले देखाएको थियो ।
प्राप्त कागजातअनुसार उईटुप लामा, दोर्जे रिन्जी शेर्पा, थेन्डुप पाल्मु शेर्पा, थेन्दुप वाङ्दी शेर्पा, जिम्मी दोर्जे शेर्पा र हिजे पुटिङ तामाङका नाममा सम्पत्ति राखेको खुलेको छ । रिम्पोछेले सम्पत्ति शुद्धीकरण मुद्दा लाग्ने भयका कारण गि थेन्डुप र जिम्मीलगायतका नाममा घरजग्गा र अरु खालका सम्पत्ति लुकाउने गरेको सम्पत्ति शुद्धीकरण विभागमा परेको उजुरीमा उल्लेख छ ।
रिम्पोछेले अवैध र शंकास्पद रकममार्फत काठमाडौंका विभिन्न स्थानमा ७० रोपनीभन्दा बढी जग्गा जोडेका छन् । हाल लुम्बिनी विकास कोषका उपाध्यक्ष समेत रहेका ल्हारक्याल लामाको समेत संलग्नतामा रिम्पोछेले तिब्बतीयन नागरिकलाई नेपालमा ल्याउने र नेपाली नागरिकता बनाएर उनीहरुको नाममा घरजग्गा र सम्पत्ति पास गर्ने तथा त्यसको लालपुर्जा र अरु सक्कली प्रमाण आफूसँगै राख्ने गरेको सम्पत्ति शुद्धीकरणमा परेको उजुरीमा उल्लेख छ । ल्यारक्यालले भने नक्कली प्रहरी खटाएर विभिन्न तिब्बती मूलका नेपाली नागरिकबाट करोडौँ रुपैयाँ ठगी गरेका छन् ।
स्याल्पा गुम्बा चालू अवस्थामा रहे पनि होटलका नाममा दर्ता गरिएको तेन्जिङ एन्ड तेन्जिङ हस्पिटालिटी नामको होटल सञ्चालनमै छैन । जबकि त्यो होटलको नाममा रिम्पोछेले ३० रोपनी जग्गा किनेर आफन्तको नाममा नामसारी गरेको उजुरीमा उल्लेख छ । त्यो होटलमा एक अर्ब ५० करोड लगानी गरेको विभागको अनुसन्धानका क्रममा त्यतिबेलै खुलेको थियो ।
काठमाडौंमा एक परिवारले २५ रोपनीभन्दा बढी जग्गा राख्न पाउँदैन । २०२१ को भूमिसुधार ऐनले काठमाडौंमा २५ रोपनीभन्दा बढी जग्गा राख्न मिल्दैन । रिम्पोछेले हदबन्दी लाग्ने भएकाले पनि शंकास्पद लगानीबाट खरिद गरिएको जग्गाहरु तिब्बती मूलका व्यक्तिहरुलाई नेपाली नागरिकता बनाई उनीहरुकै नाममा राखेका छन् ।
धर्मगुरु रिम्पोछेको अनुसन्धानको माग गर्दै सम्पत्ति शुद्धीकरण विभागमा परेको उजुरीको सन्दर्भमा उनको प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा उनका कानुन व्यवसायी तथा आफूलाई पत्रकार बताउने राजेश काफ्लेले तपाईंजस्ता धेरैले फोन गरिसकेको र सबै कुरा तपाईंलाई भन्न जरुरत नभएको भन्दै प्रतिक्रिया दिन मानेनन् ।
आफू एक टेलिभिजनमा काम गर्ने पत्रकार समेत भएकाले यस्ता कुरा पत्रकारले नै थप अध्ययन र अनुसन्धान गर्नुपर्ने बताउँदै काफ्लेले अरु केही नभन्ने भन्दै फोन राख्न दबाब दिएका थिए ।