सत्तारुढ दल अर्थात् प्रधानमन्त्रीको पार्टी एमालेको विधान महाधिवेशन धुमधामका साथ सकियो । यो महाधिवेशन मञ्च व्यवस्थापन यसरी भएको भनेर व्यवस्थापन समितिका संयोजकले नै यसरी जानकारी गराएका थिए, जहाँ प्रधानमन्त्री तथा पार्टी अध्यक्षका लागि आउजाउ गर्ने बाटो नै अलग थियो अर्थात् छुट्टै थियो । सामान्यतया पार्टीको महाधिवेशनमा एक व्यक्ति वा पदाधिकारीका लागि अलग्गै बाटो बनाइएको यो पटक एमालेमा मात्रै देखियो । अहिले प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली नै छन् । यी एक जना पदाधिकारी हिँड्नका लागि जसरी अलग्गै बाटो वा गेट बनाइयो, जो आफैंमा के हो भन्ने प्रश्न अहिले सबैतिर उठेको छ । आफ्ना नेता हिँडेको बाटो वा प्रवेश गरेको द्वारबाट अरु सहभागी हिँड्न हुँदैन भन्ने यस्तो अवधारणा समाजमा व्यापक परिवर्तन गर्छु भन्ने दलमा कहाँबाट पलायो भन्ने प्रश्न उठ्न थालेको छ । अरु कार्यकर्ताले हिँडेको बाटो अध्यक्षले हिँड्न हुँदैन वा अध्यक्षले हिँडेको बाटोमा कार्यकर्ताले टेक्नै हुँदैन भन्ने मान्यता उब्जनु आफैँमा सामान्य नहोला ।
यी दुईवटा बाटाका बारेको चर्चा अनुमानका भरमा आएको होइन । यो महाधिवेशनको व्यवस्थापन समितिका संयोजकका अनुसार ‘यो पटक सभामा प्रवेशका लागि तीनवटा द्वार बनेका छन्, जसमा पहिलो द्वारबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै प्रवेश गराइनेछ । यो बाटो अरुले प्रयोगमा ल्याउन पाउने छैनन् । पार्टीका अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै छिर्नुपर्नेछ ।’ यो महाधिवेशनमा २६ सयको हाराहारीका प्रतिनिधि रहेका भनेर बताइएको छ । त्यसैभित्र केन्द्रीय समितिदेखिका पदाधिकारी पर्छन् । जानकारहरूका अनुसार एमालेमा यस्तो अध्यक्षका लागि विशेष बाटो बनाइएको यो पहिलो पटक हो । नत्र यसअघि सभा सञ्चालन गर्न छुट्टै प्रकारको आसनबाहेक सबै कुरा एकै प्रकारको हुने गर्दथ्यो । खानपान उठबस पनि । यो पटक भने पार्टीका अध्यक्षलाई अलग्गै र अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै छिर्नुपर्ने व्यवस्था भयो । अवस्था कस्तोसम्म भने एक्लो अध्यक्ष आउजाउ गरेर खाली रहेको समयमा समेत त्यो बाटोबाट अध्यक्षबाहेक अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबैले महाधिवेशन अवधिभर त्यता टेक्नै नपाउने भए । आफ्नै दलभित्र आफ्नै कामरेडहरू समान हुँदाहुँदै पनि दोस्रो र तेस्रो प्रवेशद्वार प्रयोग गर्नुपर्ने दर्जाका बनाइएको भनेर गुनासो आउने गरेको बताइएको छ ।
ओलीको राजनीतिक प्रस्ताव पनि यतिबेला चर्चामा छ । आफैँले सहकार्य गरेका शक्तिहरूप्रति पनि उनी निकै आक्रामक देखिएका छन् । आफ्नो प्रधानमन्त्री पदको एउटै मात्र जग नेपाली कांग्रेसप्रति पनि उनी आक्रामक देखिए । कांग्रेसले पटक–पटक जनमत पाउँदा पनि क्रान्तिका उपलब्धि जोगाउन नसकेको भन्ने उनको आरोप छ । कांग्रेसले अँगालेको नवउदारवादी नीतिले मुलुकलाई समृद्धिको बाटोमा लैजान सफल हुँदैन । तर यता सरकारले अपनाएको आर्थिक नीति भने उदारवादी नै छ । माओवादीका बारे उनले भनेका छन्– शान्ति प्रक्रियापछि अगाडि सारिएका प्रायः सबै प्रयोग असफल भए । अवसरवाद, अस्थिरता र विभाजनकारी सोचका कारण माओवादी अब वैचारिक र संगठनात्मकरूपमा निरन्तर क्षयीकरण हुँदै गएको छ । याद रहोस्, संसद्को यही कालखण्डमा ओली आफैंले माओवादीका दुईवटा सरकारलाई अँगालेका थिए । यो ठाउँमा पनि ओलीको बाटो फरक परेको जस्तो देखियो । उनले जस–जसमाथि काम नलाग्ने भनेर आरोप लगाएका छन् यसअघि उनैले साथ दिएर सरकारमा पुर्याएका हुन् । त्यसो भए प्रधानमन्त्री कि त्यतिबेला गलत थिए कि अहिले भन्ने प्रश्न उठ्छ ।