दोलखा । सहकारी संस्थाको समितिमा रहेका शिक्षकहरुले राजीनामा दिन थालेका छन् । जिल्लाको वैतेश्वर गाउँपालिकाले सहकारी संस्थाको समितिबाट हट्न शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिलाई निर्देशन दिएसँगै अहिले यहाँका दर्जनौँ सहकारीको सञ्चालक समितिमा रहेका शिक्षक तथा कर्मचारीहरुले पदबाट राजीनामा दिन थालेका हुन् ।
सरकारले जारी गरेको संघीय सहकारी ऐन, नियमावली तथा सहकारी विभाग र बागमती प्रदेश सरकार, नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार वैतेश्वर गाउँपालिकाले समितिबाट हट्न सार्वजनिक सूचना जारी गरेको थियो । वैतेश्वर गाउँपालिकाको सम्पर्कमा रहेर सञ्चालनमा रहेका ४५ वटा साना–ठूला सहकारीको सञ्चालकमा ६५ प्रतिशत शिक्षक र कर्मचारी रहेकोे वैतेश्वर गाउँपालिकाको सहकारी शाखाले जनाएको छ । नियमअनुसार संघीय संसद्, प्रदेशसभा, जिल्लासभा, गाउँसभा वा नगरसभामा निर्वाचित तथा मनोनित जनप्रतिनिधिहरु, विद्यालय कार्यरत शिक्षक तथा राज्यका बहालवाला कर्मचारीले सहकारीको सञ्चालक समिति र लेखा समितिमा बस्न नपाउने भएपछि यहाँका सहकारीहरुले अहिले वार्षिक साधारणसभा आह्वान गरेर शिक्षक तथा कर्मचारीलाई हटाउने तयारी गरिरहेका छन् ।
ग्रामीण क्षेत्रमा रहेका यी सहकारीका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखा संयोजकको मुख्य जिम्मेवारी पदमा नै शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरु रहेका छन् । वैतेश्वरमा जिल्लाको दर्ता अभिलेखअनुसार ७६ वटा सहकारी दर्ता भएको भए पनि हाल ४५ वटा सहकारी मात्रै सञ्चालनमा रहेका छन् । गाउँपालिकाका सहकारी शाखा प्रमुख मुक्ति प्रसाद दाहालका अनुसार २१ वटा सहकारी निष्क्रिय र एउटा खारेज गरिएको छ । त्यसैगरी, तीनवटा सहकारी एकीकरण गरेर सञ्चालनमा रहेका छन् ।