काठमाडौँ । भ्रष्टाचार र बेथितिका साथसाथै सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका जेनजीको प्रदर्शन उग्र बनेपछि बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । कर्फ्यु आदेश जारी भएसँगै सेना परिचालन गरिएको छ । नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन भइसकेको र जेनजीको प्रदर्शन उग्र बनेसँगै स्थितिलाई नियन्त्रणमा लिन सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिएका छन् ।
नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना मार्फत जानकारी गराइएको छ ।
जेनजीले निषेधित क्षेत्र अर्थात नयाँ बानेश्वरस्थित संसद भवनबाहिर प्रदर्शन गरिरहेका छन् भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले निरन्तर अश्रुग्यास प्रहारका साथै गोली समेत चलाइरहेको छ । सो आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर ४ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।