काठमाडौँ । जेनजीको प्रदर्शनमा गोली लागेर १९ जनाभन्दा बढीको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा आकस्मिक बैठक जारी छ। बैठकमा तीनै सुरक्षा निकायका प्रमुखहरू समेत सहभागी रहेका छन्।आइतबारको प्रदर्शन हिंसात्मक बनेपछि देशभर तनावपूर्ण अवस्था सिर्जना भएको छ।
घटनापछि सोमबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, घाइतेहरूको उपचार तत्काल निःशुल्क गर्ने र घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको थियो। यसबीच, घटनापछि सरकारमाथि चौतर्फी आलोचना बढ्दै गएको छ। मानवअधिकार आयोग, नागरिक समाज र विपक्षी दलहरूले सरकारले शान्तिपूर्ण प्रदर्शनलाई दमन गरेको भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।