काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका छन् । सोमबार जेनजी प्रदर्शनका क्रममा भएको प्रहरी दमन र आमनागरिकमाथि भएको हिंसात्मक कारबाहीप्रति असहमति जनाउँदै उनले पद त्यागेका हुन् । सामाजिक सञ्जालमार्फत राजीनामा सार्वजनिक गर्दै मन्त्री अधिकारीले सरकारको दमनकारी कदमप्रति तीव्र आपत्ति जनाएका छन् ।
उनले लेखेका छन्, “स–साना कलिला छोराछोरीहरूको हत्या र दमनपछि देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले दिएको शिक्षाको खिलाफ हुने चेतावनी पाएको छु । पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष क्षमायाचना गर्दै मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु ।”
अधिकारीले लोकतन्त्रमा नागरिकले प्रश्न सोध्ने र शान्तिपूर्ण विरोध गर्ने अधिकारलाई सम्मान गर्नुपर्ने बताउँदै, उल्टै व्यापक दमन र हत्या हुनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गरेका छन् । उनले देश निर्माणमा सहकार्य गर्नुपर्ने पुस्तासँग ‘युद्धसरहको व्यवहार’ गर्नु कुनै पनि दृष्टिले स्वीकार्य नभएको भन्दै घटनाको जवाफ सरकारसँग माग गरेका छन् ।