काठमाडौं । १३ देखि २८ वर्ष उमेरका युवापुस्ताले सोमबार गरेको आन्दोलनमा नेपाल प्रहरीले संयम गुमाउँदा डेढ दर्जन बढी युवाहरु मारिएका छन् । प्रहरीले भीड नियन्त्रणको आवश्यक तयारी र यस्तो बेला अपनाउनुपर्ने सावधानीबारे बेवास्ता गर्दा सोमबार १९ जना युवा सरकारी निकायको गोलीबाट मारिएका हुन् ।
जेन–जी प्रदर्शन नियन्त्रणमा खटिएको प्रहरी स्वयम्ले १९ जना प्रदर्शनकारीको गोली लागी मृत्यु भएको स्वीकारेको छ । घुसपैठको बहाना देखाए पनि केपी शर्मा ओलीको सरकारले विद्यालय पहिरनमा भ्रष्टाचारको विरोध गर्दै आफूविरुद्ध प्रदर्शनमा उत्रिने किशोर–किशोरीहरुमाथि बर्बर दमन गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी र निजी गरी सोमबार राति अबेरसम्म १४ अस्पतालमा चार सय २२ जना घाइतेको उपचार भइरहेको जनाएको छ ।
मन्त्रालयकै अनुसार निजामती कर्मचारी अस्पताल (सिभिल)मा एक सय ७० जना, राष्ट्रिय ट्रमा सेन्टरमा ५९, वीर अस्पतालमा १०, एभरेस्ट अस्पतालमा एक सय तीन, पाटनमा छ, काठमाडौं मेडिकल कलेज (केएमसी)मा ३१, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङमा १८, नर्भिक अस्पतालमा तीन, अन्नपूर्ण न्युरोमा चार, कास्की गण्डकी मेडिकल कलेजमा एक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन, झापाको दमक अस्पतालमा सात, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार र मोरङको विराट मेडिकल कलेजमा चार जनालगायत चार सय २२ घाइतेको उपचार भइरहेको छ ।
यसरी चुक्यो प्रहरी
गत बिहीबार सरकारले आफ्नो आलोचना बन्द गराउन वर्षौँदेखि नेपालमा निर्बाध चल्न दिइएका विश्वलोकप्रिय सामाजिक सञ्जालहरुलाई नेपालमा सूचीकरण नभएको निहुँमा बन्द गर्ने निर्णय नै यसको मुख्य संयोग बनेको थियो । कानुन नै बनाउन नसकेको सरकारले सर्वोच्च अदालतले एउटा मिडियाविरुद्ध गरेको फैसलाको हवालामा निर्देशिकाकै भरमा पर्याप्त समय नै नदिई सामाजिक सञ्जाल बन्द गरायो । जबकि तिनैमध्ये अधिकांशले नेपालमा दर्ता भएर कर तिरेकै वर्षौँ भइसकेको थियो । यस्तोमा जेन–जी पुस्ता सामाजिक सञ्जालबाट विमुख भए ।
यहीबीच केही समययता यही पुस्ताले इन्डोनेसिया र फिलिपिन्सजस्ता देशमा भइरहेका भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन चर्काइरहेको थियो । प्रविधिले ग्लोबल भिलेज बनाइरहेका बेला नेपाली जेन–जीले पनि देशका बेथिति र भ्रष्टाचारविरुद्ध संगठित हुने निर्णय गरेका थिए । उक्त देशहरुको जस्तै आन्दोलनविना नहुने निष्कर्षपछि उनीहरुले नेपालमा आन्दोलन गर्न सोमबारको दिन रोजेका थिए । यतिसम्म कि काठमाडौं जिल्ला प्रशासनबाट प्रदर्शनको अनुमति नै लिएका थिए । प्रशासनले पनि अनुमति दिएकै थियो । यति स्पष्टरुपमा घोषित आन्दोलन सोमबार ९ बजेदेखि तोकिएकै समयमा माइतीघरबाट प्रवेश ग¥यो । उनीहरुले जे जसरी हुन्छ भनेका थिए, त्यसैगरी भइरहेको थियो । तर भीड जब संसद् भवन रहेको नयाँ बानेश्वरतर्फ केन्द्रित भयो । नेपाल प्रहरीले यहीँनेर कमजोरी ग¥यो ।
सामाजिक सञ्जालबाट केही युवा जम्मा हुने कमजोर आकलन गरेको प्रहरीले बानेश्वरमा बलियो ब्यारिकेड नबनाउनु, उनीहरुलाई माइतीघर–बानेश्वर खण्डमै सीमित गर्ने रणनीति नबनाउनु, आवश्यक तयारी नगर्नु प्रहरीको ठूलो कमजोरी देखिएको छ । सोमबार भीड बढ्दै जाँदा बानेश्वर लम्किएका प्रदर्शनकारीलाई प्रहरीले सहजै आफ्नो ब्यारिकेड नाघ्न दिए । जबकि गत चैत १५ मा दुर्गा प्रसाईं नेतृत्वमा भएको राजावादी आन्दोलनमा समेत प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न सकेका थिएनन् ।
सोमबार त्यसो भएन । प्रहरी पछि हट्यो । प्रदर्शनकारी अघि बढे । जहाँ नपुग्नुपर्ने हो, त्यहीँ प्रदर्शनकारी पुगेपछि मात्र प्रहरीले चेत पायो । प्रशासनले कफ्र्यु आदेश सम्झियो । जबकि त्यो समय ढिला भइसकेको थियो । त्यसपछि आन्दोलनमा भ्रष्टाचारको मुद्दा लिएर उत्रिएकाहरु संसद् भवन देख्नेबित्तिकै प्रवेश गर्न खोजे । सोही क्रममा प्रहरीले संयम गुमायो र रबरको गोली चलायो । पछि प्रहरीले रबरको गोली होइन साँच्चैको गोली चलायो । परिणाम जे नहुनुपर्ने थियो, त्यही आयो– प्रहरीकै तथ्यांकमा १९ जनाको मृत्यु भयो ।
उपत्यकाबाहिर पनि जेन–जी प्रदर्शन
जेन–जीले काठमाडौं उपत्यकामा मात्र नभई सोमबार देशैभर प्रदर्शन गरेका छन् । सुनसरीको इटहरीमा दुई जना प्रहरीको गोलीबाट मारिएका छन् भने अन्य विभिन्न सहरहरुमा धेरै घाइते भएका छन् । इटहरीबाहेक कास्कीको पोखरा, झापाको दमक, सुर्खेतको वीरेन्द्र नगर, रुपन्देहीको बुटवल, काभ्रेको बनेपा, मोरङको विराटनगर, चितवनलगायतका विभिन्न स्थानहरुमा प्रदर्शन भएका छन् । उपत्यकाबाहिरको प्रदर्शनमा पनि प्रहरीले बर्बर दमन मात्र गरेको छैन, गोली चलाई प्रदर्शनकारीलाई घाइते बनाएको छ । सोही कारण पोखरा, वीरगन्ज, इटहरीलगायतका स्थानमा रातभरि कफ्र्यु लगाइएको छ ।
अत्यधिक बल प्रयोग गरियो ः मानवअधिकार आयोग
यसैबीच, जेन–जी प्रदर्शनको स्थलगत अनुगमन गरेको राष्ट्रिय मानवअधिकार आयोगले सरकारले प्रदर्शनकारीमाथि अत्यधिक बलप्रयोग गरेको भन्दै त्यसो नगर्न निर्देशन दिएको छ । आयोगले सोमबार अनुगमनपछि विज्ञप्ति जारी गरी युवापुस्ताको आवाजलाई सुन्न भनेको छ । बानेश्वर प्रदर्शनमा आयोगको टोलीको गाडी समेत प्रहरी दमनबाट भड्किएका प्रदर्शनकारीले जलाइदिएका थिए । आयोगले २० गते नै सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनर्विचार गर्न निर्देशन दिए पनि सरकारले टेरेको छैन ।
आयोगले प्रहरीको गोली लागि दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र दर्जनौँ व्यक्तिहरू घाइते भएको जनाएको छ । आयोगले मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
शान्तिपूर्ण आवाज र मानवअधिकारको सम्मान गर ः राष्ट्रसंघ
यसैबीच, संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले पनि सोमबारको प्रदर्शनमा भएको सरकारी दमनको भत्र्सना गरेको छ । शान्तिपूर्ण आवाज र मानवअधिकारको सम्मान गर्न उसले सरकारको ध्यानाकर्षण गराएको छ । ‘नेपाल जीवन्त प्रजातन्त्रमा रहेको देश हो र युवा आवाजलाई सम्बोधन गर्न संवाद जरुरी छ’, आयोगको भिडिओ वक्तव्यमा भनेको छ, ‘हामी सामाजिक सञ्जाल बन्दको निर्णय पुनर्विचार गर्न र तिनलाई नियमन गर्ने विषय नेपालको मानवअधिकारको बाध्यकारी अवस्थाअनुसार भएको सुनिश्चित गर्न जोडदार आग्रह गर्छौँ ।’ राष्ट्रसंघीय निकायले प्रहरी बर्बरतापूर्ण दमनबाट ठूलो संख्यामा मृत्यु र घाइते भएकोमा दुःख व्यक्त गरेको छ ।
अन्ततः गृहमन्त्रीको राजीनामा
काठमाडौं, राजावादी प्रदर्शन र भिजिट भिसा प्रकरणमा अटेर गर्दै आएका गृहमन्त्री रमेश लेखकले सोमबार जेन–जी प्रदर्शनमा भने नैतिक जिम्मेवार भन्दै राजीनामा दिएका छन् । १९ जनाको मृत्यु र चार सय बढी घाइते भएको जिम्मेवारी लिँदै सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकमा लेखकले राजीनामा दिएका हुन् ।
जेन–जीको प्रदर्शनमा उनी मातहतको प्रहरी प्रशासनले अत्यधिक दमन गरेको थियो । त्यसको चर्को आलोचना भएपछि गृहमन्त्रीबाट लेखकको राजीनामा आएको हो । उनले मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका हुन् ।
सोमबार साँझ बसेको कांग्रेस पदाधिकारीहरूको बैठकमा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठेको थियो । ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए । काठमाडौँ उपत्यका र उपत्यकाबाहिर डेढ दर्जन बढी युवाले ज्यान गुमाइसकेका छन् । घाइते धेरै भएको र केहीको अवस्था गम्भीर रहेकाले यो संख्या अझै बढ्न सक्नेछ ।