काठमाडौं । शान्तिपूर्ण आन्दोलनको एजेण्डा बोकेर प्रदर्शनमा उत्रिएको जेन–जी समूहको सोमबारको प्रदर्शनमा सरकार र व्यवस्थाविरोधी राजनीतिक घुसपैठले अवस्था हिंसात्मक बनेको छ । ‘जेन–जी’ अर्थात् सन् १९९७ देखि २०१२ सम्म जन्मिएका पुस्ताले गरेको अभिव्यक्ति स्वतन्त्रता तथा भ्रष्टाचारविरोधी सडक प्रदर्शनमा सरकार र वर्तमान व्यवस्थाविरोधी राजनीतिक दलहरुको घुसपैठको कारण भएको हिंसामा कम्तीमा १९ जनाको ज्यान गएको छ भने झण्डै चार सयभन्दा धेरै घाइते भएका छन् ।
‘जेन–जी’ को नाममा भएको प्रदर्शनमा गणतन्त्रविरोधी राजावादी समूह, राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौंका मेयर बालेन साह, माओवादी, समाजवादीलगायतका सरकारविरोधी दलहरुका साथै नेता तथा कार्यकर्ताले युवापुस्तालाई उत्तेजित पार्ने काम गरेका थिए । कतिपय ठाउँको प्रदर्शनमा वर्तमान सरकार विरोधी राजनीतिक दलका युवा नेताहरुले नेतृत्व गरेको कारण ‘जेन–जी’ लाई उनीहरुले उत्तेजित पारेर मृत्युको मुखमा पु¥याएको विभिन्न फोटोहरुले नै पुष्टि गरेको छ ।
‘जेन–जी’हरुले आफ्नो प्रदर्शनमा राजनीतिक दलका नेता तथा कार्यकर्तालाई नआउन पटकपटक आग्रह गरे पनि सोमबारको प्रदर्शनमा राजनीतिक दलका नेता तथा कार्यकर्ताले नेतृत्व मात्र गरेनन्, काठमाडौंको कतिपय ठाउँमा राजाको पक्षमा नाराबाजी गर्दै मोटरसाइकलमा जुलुस समेत निकालिएको थियो ।
‘जेन–जी’ को आन्दोलनमा समर्थन र साथ रहेको भनेर माओवादी अध्यक्ष प्रचण्डले आइतबार भाषण मात्र गरेनन् माओवादीकै विद्यार्थी नेता सुदूरपश्चिम प्रदेशका यादव सिंहलगायतका नेताहरुले तोडफोडको नेतृत्व गरेको फोटो तथा भिडियोमा प्रत्यक्ष देख्न सकिन्छ । आफ्नो प्रदर्शनमा राजनीतिक घुसपैठ भएको ‘जेन–जी’ समूहले पनि स्वीकार गरेको छ ।
सोमबार साँझ कार्यक्रम संयोजक पुरुषोत्तम यादव र सवल गौतमले जारी गरेको विज्ञप्तिमा हिंसात्मक आन्दोलन आफूहरूको उद्देश्य र योजना नरहेको भन्दै जेन–जीको आन्दोलन असफल बनाउन खोज्नेहरुले सोमबार अराजकता मच्चाएको बताएका छन् । उनीहरुले आन्दोलन मंगलबार पनि जारी रहने भन्दै अराजक बनाउन खोज्ने कुनै कदम स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।
सोमबारको आन्दोलमा सुलभराज श्रेष्ठ (वर्ष २१), श्रीराम चौलागाईँ (वर्ष १९), बुद्धिबहादुर तामाङ (वर्ष ४२), गौरव जोशी (वर्ष २९), सौरभ कटुवाल (वर्ष २५), सौरभ किशोर श्रेष्ठ र सुवास पोखरेलको मृत्युको सनाखत भएको छ भने अन्यको पहिचान खुल्न बाँकी छ ।
विपक्षी दलहरुको संलग्नताको आरोप
उता, आन्दोलनलाई हिंस्रक बनाउनका लागि विपक्षी दलहरुले घुसपैठ गरेको आरोप लागेको छ । घटनापछि सुरक्षा निकायका अधिकारीहरुले गृहमन्त्रीलाई दिएको ब्रिफिङमा विपक्षी दलहरु नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुको संलग्नता देखिएको बताएका थिए । निवर्तमान गृहमन्त्री रमेश लेखकको सचिवालयका एक सदस्यका अनुसार सुरक्षा निकायका प्रमुखहरुले यस्तो ब्रिफिङ गरेका थिए ।
उता, आन्दोलनमा माओवादी, रास्वपा र राप्रपाका विद्यार्थी तथा युवा संगठनका नेता कार्यकर्ताहरुको संलग्नताको तस्वीरहरु सार्वजनिक भएका छन् । जसले आन्दोलनमा ती पार्टीको संलग्नताको पुष्टि गर्न मद्धत गरेको छ । संसद् भवन तोडफोड र आगजनीमा त्यस्तै घुसपैठ भएर आएकाहरुको संलग्नता देखिन्छ । आन्दोलनमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंका समर्थकहरुको समेत संलग्नता रहेको आरोप लागेको छ ।
कमजोर गुप्तचर संयन्त्र
आन्दोलनको पूर्वसन्ध्यामै घुसपैठको संकेत र सम्भावनाबारे चर्चा भइरहँदा पनि सरकारको गुप्तचर संयन्त्रले भने यसबारे केही पनि जानकारी पाउन सकेन । यस्ता आन्दोलनपूर्व नै गुप्तचर निकायले सम्भावित अप्रिय घटनाबारे सूचना संकलन गरेर सोहीअनुसारको तयारीका लागि प्रहरीलाई जानकारी दिनुपर्ने हो ।
नेपाल प्रहरीको गुप्तचर निकाय, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाको गुप्तचर संयन्त्रले सूचना प्राप्त गर्नुपर्ने हो । तर कमजोर गुप्तचर संयन्त्रका कारण प्रहरीले उचित सुरक्षा दिन नसक्दा आजको अप्रिय घटना घटेको विश्लेषकहरुको बुझाइ छ ।