काठमाडौं । जेनजी आन्दोलन दोस्रो दिनमा झन् आक्रामक बनेको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित घरमा मंगलबार दिउँसो प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।स्थानीय स्रोतका अनुसार सुरुमा प्रदर्शनकारीहरूले थापाको घरमा पार्क गरिएको गाडीमा आगजनी गरेका थिए, त्यसपछि भिडले घरको वरिपरि समेत तोडफोड र आगजनीको प्रयास गरेको प्रहरीले पुष्टि गरेको छ। सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आन्दोलनमा उत्रिएका जेनजीका युवाहरूमाथि सोमबार गरिएको चरम दमनले आजको आन्दोलनलाई झन् उग्र बनाएको छ। सोमबारको दमनमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्।काठमाडौंसहित देशका विभिन्न प्रमुख शहरमा प्रदर्शन जारी छ। सुरक्षाकर्मी र प्रदर्शनकारीबीच विभिन्न स्थानमा झडप भइरहेका छन् भने संवेदनशील क्षेत्रहरूमा उच्च सतर्कता अपनाइएको छ।