काठमाडौं । जेनजी आन्दोलन सोमबार राजधानीभर थप उग्र बनेको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय शीतलनिवासमा समेत आगजनी गरेका छन्। राजधानीका संवेदनशील सरकारी निकाय र प्रमुख राजनीतिक नेताहरूका निवाससमेत प्रदर्शनकारीहरूको निशानामा परेका छन्।सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, शीर्ष नेताहरूका घर र पार्टी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार तोडफोड र आगजनी गरिरहेका छन्। संसद् भवन परिसरमा प्रदर्शनकारीहरूले सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएको घटना समेत भएको छ।
सिंहदरबार वरपर प्रदर्शन गरिरहेका जेनजी युवाहरूले गेटमा तैनाथ सुरक्षाकर्मीको बन्दुक खोसेर आकाशतर्फ पड्काएका थिए। घटनापछि राजधानीमा थप तनाव फैलिएको छ।आन्दोलन अझै थामिएको छैन। विभिन्न सरकारी कार्यालयहरू, अदालत, संसद् र दलका केन्द्रीय कार्यालयहरू प्रदर्शनकारीहरूको निशानामा परिरहेका छन्। राजधानीका अधिकांश क्षेत्रमा धुवाँ र आगोको दृश्य देखिएको छ भने सुरक्षाकर्मीहरू उच्च सतर्कतामा परिचालित छन्। उता, बढ्दो जनदबाब र आन्दोलनको चर्को परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। नयाँ सरकार गठनबारे राजनीतिक दलहरूबीच आन्तरिक छलफल जारी रहेको स्रोतले जनाएको छ।