काठमाडौं । राजधानीको कालिमाटी चोकमा मंगलबार दिउँसो प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ। जेनजी युवाहरूको जारी प्रदर्शनका क्रममा भएको प्रहरी र प्रदर्शनकारीबीचको झडपपछि अवस्था उग्र बनेको हो।प्रत्यक्षदर्शीका अनुसार दिउँसो करिब २ बजेतिर प्रदर्शनकारी र प्रहरीबीच भीडन्त चर्किएपछि प्रहरीले नियन्त्रण बाहिर गएको अवस्थालाई रोक्न गोली चलाएको थियो। गोली टाउकोमा लाग्दा दुई युवाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। घटनापछि कालिमाटी क्षेत्र थप तनावग्रस्त बनेको छ। सुरक्षाकर्मीहरूको ठूलो संख्यामा परिचालन गरिए पनि प्रदर्शनकारीहरूको भीड नियन्त्रणमा आउन सकेको छैन। अहिले प्रहरीले मुख्य सडक बन्द गर्दै आसपासका क्षेत्रलाई उच्च सुरक्षा घेरामा राखेको छ। जेनजी आन्दोलनले पछिल्ला दिनमा देशव्यापी रूप लिँदै सरकारमाथि चर्को दबाब सिर्जना गरेको छ। राजधानीका विभिन्न स्थानमा प्रदर्शन जारी रहेका कारण सुरक्षा निकायहरू उच्च सतर्क अवस्थामा छन्।