काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जारी जेनजी आन्दोलनमा सहभागी युवापुस्तालाई पुनः घर फर्कन अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत मेयर शाहले अब देश नयाँ पुस्ताको हातमा आइसकेको भन्दै सार्वजनिक सम्पत्तिको क्षति अन्ततः सबै नेपालीको हुने चेतावनी दिएका छन्। बालेनले आफ्नो अपिलमा भनेका छन्, “देश तपाईंहरुकै हातमा हो। तपाईंहरूले नै बनाउने हो। अब जति क्षति हुन्छ, त्यो तपाईं हाम्रो नै हुने हो। अब घर फर्किनुहोस्।” यसअघि वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलगायत विशिष्ट पेशाकर्मी, नागरिक अगुवा र बुद्धिजीवीहरूले पनि आन्दोलनले सरकारलाई घुँडा टेकाइसकेकाले अब हिंसात्मक गतिविधि रोक्न आग्रह गरेका थिए। जेनजी आन्दोलनले पछिल्ला दिनहरूमा देशभर ठूलो प्रभाव पारेको छ। राजधानीमा सुरक्षा अवस्था संवेदनशील बन्दै गएका बेला मेयर शाहको यो अपिलले आन्दोलनलाई शान्त पार्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।