गण्डकी । जेन–जी आन्दोलनका कारण गण्डकी प्रदेशको राजधानी पोखरामा आज अधिकांश सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । पोखरामा दिनभर कफ्र्यु आदेश भए पनि आन्दोलनकारीहरूले प्रदर्शन जारी राखेका थिए ।
प्रदर्शनका क्रममा पोखरा महानगरपालिका, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, गण्डकी प्रदेश सभाको कार्यालय, मुख्यमन्त्रीको कार्यालय तथा निवास, महानगरपालिकाका विभिन्न वडा कार्यालयमा उनीहरूले आगजनी गरेका हुन् ।
आन्दोलनकारीकै सहयोगमा कास्की कारागारमा भएका सबै कैदीबन्दी भागेका छन् । उक्त कारागारमा करिब ९०० कैदीबन्दी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।
त्यस्तै प्रदर्शनकारीले यहाँस्थित भाटभटेनी सुपर मार्केट, विभिन्न सरकारी गाडीका साथै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको निवास, सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको निवासलगायतमा पनि आगजनी एवमं तोडफोड गरेका छन् ।
घोराही र तुलसीपुरका सरकारी कार्यालयमा तोडफोड
जेन–जी आन्दोलन दोस्रो दिन सोमबार दाङको घोराही र तुलसीपुरका सरकारी कार्यालय तथा राजनीतिक दलका भवनमा आगजनी र तोडफोड गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका, मालपोत, उच्च अदालत, आन्तरिक राजस्व, इलाका प्रशासन, नगर विकास समिति र कारागारसहितका सरकारी कार्यालयमा आगजनी गरिएको छ । एमाले, कांग्रेस र माओवादीका पार्टी कार्यालय पनि ध्वस्त पारिएका छन् । कारागारका बन्दीसमेत भगाइएको छ ।
प्रदर्शनकारीले एमाले महासचिव शंकर पोखरेल, नेता कोमल वली, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कांग्रेस नेता गेहेन्द्र गिरी, पूर्वमन्त्रीहरू हिराचन्द्र केसी र दीपक गिरीको घरमा समेत आगजनी तथा तोडफोड गरेका छन् ।
घोराहीमा घरेलु कार्यालय, मालपोत कार्यालय, शिक्षा समन्वय समिति, जिल्ला समन्वय समिति, नेपाल बार एसोसीयसन, जिल्ला अदालत, घोराही उपमहानगरपालिका, जिल्ला ट्राफिक कार्यालयलगायतका कार्यालयमा तोडफोड र आगजनी भएको छ ।
तनहुँका सरकारी कार्यालयमा आगजनी र तोडफोड
तनहुँको सदरमुकाम दमौलीस्थित सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ । व्यास नगरपालिका–३ मा रहेका केही सरकारी कार्यालयमा जेन–जी युवाले आज तोडफोड र आगजनी गरेका हुन् ।
व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, डिभिजन वन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा भवन तथा सवारीमा आगजनी र तोडफोड भएको छ । बिहानैदेखि सुरु भएको आन्दोलन साँझसम्म पनि जारी छ ।
प्रदर्शनकारीले व्यास नगरपालिका, आन्तरिक राजस्व कार्यालय, डिभिजन वन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका गाडीहरु जलाएर नष्ट गरेका छन् ।