काठमाडौं । जेन–जी आन्दोलनमा भएको भिडभाड र घुसपैठको मौका छोपी देशभरका करिब दुई हजारभन्दा धेरै कैदीबन्दी कारागारबाट भागेका छन् । घुसपैठपछि अराजक बनेको आन्दोलनले विभिन्न स्थानमा आगजनी गर्दै हिँड्न थालेपछि देशभरको प्रहरी प्रशासन निष्क्रिय बनेको थियो । यही मौका छोपी काठमाडौं उपत्यकामा करिब नौ सयसहित देशभरका दुई हजारभन्दा धेरै कैदीबन्दी फरार भएका हुन् ।
ललितपुरको केन्द्रीय कारागारबाट रास्वपा सभापति रवि लामिछानेसहित सबै कैदीबन्दी भागेका छन् । सभापति लामिछानेले आफू विधिसम्मतरुपमा रिहा भएको भनिए पनि अदालतले दिएको आदेशबाट कारागार पुगेका उनी अदालतको आदेशविना नै निस्किएपछि फरार भएको आरोप लाग्ने गरेको हो ।
जेन–जी आन्दोलन
नियन्त्रणबाहिर गएपछि आन्दोलनकारीहरूको भीडले उनलाई रिहा गराएको हो । प्रहरी निष्कृय भएको र आक्रामक भीड आउँदै गरेको भयमा कारागार प्रशासनले उनको मुद्दालाई नै राजनीतिक मुद्दा परिभाषित गरिदिएको देखिन्छ । जबकि मुद्दा परिभाषित गर्ने अधिकार अदालतसँग मात्रै रहन्छ । जसले गर्दा पनि पत्र भए पनि उनको रिहाइ भागेको जस्तो देखिएको हो । कुल सात सय ५० कैदीबन्दी क्षमताको नख्खु कारागारमा रविसँगै भीडको पछि लागेर खुुंखार अपराधी सञ्जय टकला पनि फरार भएका छन् । उनीहरुसहित कारागारका सबै कैदीबन्दीहरु भीडको पछि लागेर फरार भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
कारागारले राजनीतिक मुद्दा भनेर रिहा गरे पनि लामिछाने भने सहभागी ठगी मुद्दामा कारागार चलान भएका थिए । त्यस्तै, पूर्वराज्यमन्त्री समेत रहेका टकला जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका थिए । तत्कालीन अवस्थामा मधेशी जनअधिकार फोरम र सद्भावना पार्टीका सांसद रहेका टकलामाथि जनकपुरकै मिडिया उद्यमी अरूण सिंहानियाको हत्याको आरोप पनि छ । उता, भक्तपुर कारागारबाट एक सय ४२ कैदी भागेका छन् । सरकारी दमनपछि अराजक बनेको जेन–जी प्रदर्शन क्रममा प्रदर्शनकारीले आक्रमण गरेपछि मौका छोपी कैदीबन्दी भागेका हुन् ।
त्यस्तै, उपत्यकाबाहिर जिल्ला प्रशासन कार्यालयको भवनमा आगो लगाइसकेपछि आएका आन्दोलनकारीहरुले कैलाली कारागारका कैदीबन्दीलाई भगाउन सहयोग गरेका थिए । साँझ करिब पौने ६ बजेको समयमा उनीहरूले त्यहाँ रहेका करिब सात सय जना कैदीबन्दीलाई बाहिर निकालेर आफूसँगै आन्दोलनमा सहभागी गराएका थिए । यसबाहेक तिनै कैदीबन्दीको प्रयोग गरेर प्रदर्शनकारीले धनगढीको भाटभटेनी सुपरमार्केटमा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ ।
कास्की कारागारबाट सात सय ७४ कैदीबन्दी भागेका छन् । मंगलबार (भदौ २४) उनीहरूलाई ‘जेन–जी’ पुस्ताका प्रदर्शनकारीले भगाएको कारागार प्रशासनले जनाएको छ । त्यहाँका कार्यालय प्रमुख घर गएपछि आन्दोलनकारीले कैदीबन्दी भगाएका थिए ।