काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् ।
रास्वपाका सांसदहरुले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा पार्टीको संसदीय दल एकमत रहेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिए । रास्वपाको संसदीय दलको कार्यालयबाट जारी विज्ञप्तिमा रास्वपा संसदीय दलका नेता रवि लामिछानेसहित २० प्रतिनिधिसभा सदस्यहरुले राजीनामा दिने निर्णयबारे जानकारी दिइएको छ । यसअघि, सोमबार जेन–जी प्रदर्शनपछि रास्वपाका सभापनि रवि लामिछानेले नक्खु कारागारबाट जारी गरेको सन्देशमा आफ्ना मागहरु पूरा नभए राजीनामा दिन तयार रहन सांसदहरुलाई आह्वान गरेका थिए । प्रतिनिधिसभामा रास्वपाका तर्फबाट उपसभामुखसहित २१ जना सांसद छन् ।
यस्तै, राप्रपाले पनि देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको सन्दर्भमा राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिई संसद्बाट बाहिरिने निर्णय गरेको पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । ‘आन्दोलनरत जेन–जी पुस्ताको मागको सम्बोधन र नवीन समझदारीको दिशामा अघि बढ्न राप्रपा सबैमा हार्दिक अपिल गर्दछ,’ प्रवक्ता एवम् प्रचार विभाग प्रमुख श्रेष्ठद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।