वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा ‘जेन–जी’ समूहको आन्दोलनले उग्ररूप लिएसँगै प्रशासनले अनिश्चितकालिन कफ्र्यु आदेश जारी गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले वीरगञ्ज महानगर क्षेत्रमा प्रदर्शन तथा तनावको अवस्था कमी नआएपछि अनिश्चितकालिन कफ्र्यु आदेश जारी गरेको जानकारी दिए । उनका अनुसार मंगलबार बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म कफ्र्यु आदेश जारी गरेको थियो । तर, यहाँको अवस्था सामान्यतर्फ उन्मुख नभएसँगै कफ्र्युको समयावधि थप गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम पर्साको वीरगञ्ज महानगर क्षेत्रको पूर्वमा वाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचौक र दक्षिणमा शंकराचार्य गेटलगायतका स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेरा गर्न नपाइने गरी कफ्र्यु आदेश जारी गरिएको बताए ।
प्रशासनले कर्फ्यु लगाए पनि यहाँका जेन–जी समूहले भने विभिन्न सरकारी कार्यालय र राजनीतिक दल तथा नेताको घरमा आगजनीका घटना भने रोकिएका छैनन् । प्रदर्शनकारीले नेपाल टेलिकम वीरगञ्ज कार्यालय, आन्तरिक राजस्व कार्यालय वीरगञ्ज, वीरगञ्ज महानगरको कार्यालयमा आगजनी गरेका छन् । त्यसैगरी, पर्सा जिल्ला प्रतिनिधिसभाका सांसद तथा राजनीतिक दलका नेताहरूको घरहरूमा पनि आगजनीका घटना भएका छन् ।