काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप आठ खर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ५४ वटा संस्थाहरुको कुल निक्षेप १२ दशमलव छ प्रतिशत अर्थात् आठ खर्ब ११ अर्ब ४९ करोड रुपैयाँले बढेको हो । अघिल्लो वर्ष यस्तो निक्षेप १३ प्रतिशत अर्थात् सात खर्ब ४२ अर्ब ३७ करोड रुपैयाँले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः सात दशमलव एक प्रतिशत, ३६ दशमलव छ प्रतिशत र ४८ दशमलव तीन प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः पाँच दशमलव आठ प्रतिशत, ३० दशमलव तीन प्रतिशत र ५६ दशमलव चार प्रतिशत रहेको थियो । २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ दशमलव एक प्रतिशत रहेको छ । २०८१ असार मसान्तमा यस्तो निक्षेपको अंश ३६ दशमलव दुई प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा आठ दशमलव चार प्रतिशत अर्थात् चार खर्ब २३ अर्ब ७३ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा पाँच दशमलव आठ प्रतिशत अर्थात् दुई खर्ब ७६ अर्ब ९४ करोड रुपैयाँले बढेको थियो ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२ दशमलव आठ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ दशमलव दुई प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव तीन प्रतिशत र ३६ दशमलव सात प्रतिशत रहेको थियो ।
समीक्षा वर्षमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह आठ दशमलव छ प्रतिशतले, विकास बैंकहरूको छ दशमलव एक प्रतिशतले र फाइनान्स कम्पनीहरूको आठ दशमलव चार प्रतिशतले बढेको छ ।
२०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६४ दशमलव सात प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ दशमलव पाँच प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०८१ असार मसान्तमा यो अनुपात क्रमशः ६६ दशमलव पाँच प्रतिशत र १३ दशमलव दुई प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूको औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा सात दशमलव नौ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५ दशमलव पाँच प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा तीन दशमलव चार प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १२ दशमलव आठ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा शून्य दशमलव दुई प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा सात दशमलव एक प्रतिशतले, रियल स्टेट कर्जाअन्तर्गत व्यक्तिगत आवासीय घर कर्जा समेत पाँच दशमलव नौ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५६ दशमलव दुई प्रतिशतले, ट्रस्ट रिसिट अर्थात् आयात कर्जा ५१ दशमलव एक प्रतिशतले, हायर पर्चेज कर्जा तीन दशमलव सात प्रतिशतले र डिमान्ड तथा चालू पँुजी कर्जा १३ दशमलव दुई प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १० दशमलव चार प्रतिशतले घटेको छ ।