काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघले तत्काल वार्तामार्फत् हाल देखिएको समस्याको निकास खोज्न सरोकारवाला समक्ष अपिल गरेको छ ।
भ्रष्टाचार निवारण, सामाजिक सञ्जालको निर्वाध सञ्चालनलगायतका मागसहित जेन–जी पुस्ताद्वारा सोमबार राजधानीलगायतका अन्य प्रमुख सहरहरुमा गरिएको प्रदर्शनमा प्रहरी दमन हुँदा ठूलो मानवीय क्षति भएकोप्रति महासंघ गहिरो दुःख व्यक्त गरेको छ । महासंघले मंगलवार विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा घाइते भएका समस्त प्रदर्शनकारी र सुरक्षाकर्मीहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
देशमा व्याप्त भ्रष्टाचारका कारण आजित भएर युवाहरु सडकमा आउनुले नेपालको अन्तर्राष्ट्रिय छविमा समेत अत्यन्त गम्भीर असर परेको हुँदा सरोकारावाला सबैलाई संयमित हुँदै भ्रष्टाचारलगायत मुलुकमा विद्यमान अन्य सबै समस्याको निकासका लागि अविलम्ब सार्थक वार्ता थाल्न महासंघले अपिल गरेको छ ।