‘जेन–जी’ अर्थात् सन् १९९७ देखि २०१२ सम्म जन्मिएका पुस्ताले गरेको अभिव्यक्ति स्वतन्त्रता तथा भ्रष्टाचार विरोधी सडक प्रदर्शनमा खर्बौं रुपैयाँ बराबरको सरकारी तथा व्यक्तिगत सम्पत्ति नष्ट भएको छ । देशमा बेथिति बढेको कारण त्यसको विरुद्ध विद्रोह भन्दै सुरु भएको प्रदर्शनले एकैदिन खर्बौं रुपैयाँ बराबरको सम्पत्तिलाई खरानीमा परिणत गरिदियो । उक्त सम्पत्ति जोगाउन न त प्रहरीले प्रयास गर्यो न त नेपाली सेनाले नै । मंगलबार रातिदेखि नेपाली सेना सडकमा गस्तीका लागि उत्रिएको छ तर उसले सिंहदरबार, शीतल निवास, बबरमलतको सडक विभागलगायत सयौं वर्ष पुराना ऐतिहासिक ती संरचनाहरूमा लागेको आगो निभाउने कुनै प्रयास नै गरेको देखिएन । राज्यको चिनारीसँग गाँसिएका ती संरचना जोगाउन सेनालाई कसैले रोक्ने थिएन । तर, सेनाले मंगलबार दिनभर ती सरकारी संरचनामाथि भएको आगलागीलाई टुलुटुलु हेरेर बसिमात्र रह्यो ।
जनताको अधिकार स्थापना गर्ने र भ्रष्टाचार तथा बेथिति रोक्ने नाममा जसरी राज्यका सम्पत्तिमाथि आगजनी गरियो यस्तो कामले केबल इतिहास मेटाउने काम मात्र गर्नेछ । यस्ता कामले जनताको अधिकारको सम्बोधन पनि गर्दैन । आज विश्वका कैयौं देशहरूले यस्तै ऐतिहासिक धरोहर जीवित राखेर पर्यटकबाट करोडौं मुद्रा आम्दानी गरिरहेका छन् । आफ्नो कला र संस्कृति जोगाएर नयाँ पुस्तालाई संरक्षणको पाठ सिकाइरहेका छन् । तर, नेपालमा भने कसैले जलाउन नसकेको र नचाहेको काम जेन–जीको नाममा भएको छ । यस्तो पुराना तथा ऐतिहासिक धरोधर नष्ट पार्ने योजना पक्का पनि जेन–जीको होइन होला ? होइन भने आगजनी सुरु हुनासाथ किन आन्दोलनमा रहेका जेन–जीका समर्थकहरूले त्यसलाई रोक्न सकेनन् ? वा प्रयास गरेनन् ? यो गम्भीर प्रश्न जेन–जीको अगाडि सधैँ खडा भइरहनेछ ।
परिवर्तनका लागि भएका आन्दोलनमा केही क्षति पुगिहाल्छ भन्ने तर्क गर्न सक्लान् तर इहितास मेटाएर कुनै पनि माग सम्बोधन भएको मान्न भने सकिँदैन । प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएर स्वीकृत भइसकेपछि मात्र धेरै ठाउँमा आगजनी भएको देखिएको छ । माग सम्बोधन भएपछि जेन–जीले आन्दोलनका कार्यक्रम फिर्ता गर्नुपर्नेमा नेपाली सेना नै सडकमा आउनुपर्यो । यसले बेथितिविरुद्धको प्रदर्शनले थप बेथिति मात्र ल्याएको मान्न सकिक्छ । जेन–जीका समर्थकहरूले सरकारी तथा व्यक्तिगत सम्पत्तिमा छानीछानी प्रहार गरेको देखिन्छ । व्यक्ति छानीछानी उसको सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तिलाई पक्कै पनि राम्रो मान्न सकिन्न । यतिमात्र होइन कपितय प्रदर्शनकारीहरूले लुटपाट र चोरीसमेत गरेका छन् । आन्दोलनमा बेथिति बढ्दै गएपछि जेन–जीको नाममा लुटपाट भएको हो । यो हदैसम्मको बेथिति हो । यस्तो बेथितिबाट बचाउनको लागि जेन–जीको नेतृत्वले ठूलो दुःख गर्नैपर्ने देखिएको छ । यही अवस्थाबाट भ्रष्टाचार र बेथिति रोक्न मुश्किल नै पर्छ । जुनसुकै अवस्था वा व्यवस्था परिवर्तन भए पनि भौतिक संरचना चाहिन्छ नै । भौतिक संरचना जोगाएर आन्दोलन गरेर पनि परिवर्तन ल्याउन सकिन्छ तर जेन–जी पुस्ताले त्यतातिर ध्यान नै दिएन ।