काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले आन्दोलनरत जेन–जी पक्षलाई संयमता अपनाउन अपिल गरेको छ । परिसंघले मंगलबार एक विज्ञप्ति जारी गरी शान्ति, सुरक्षा र रचनात्मक संलग्नतालाई प्राथमिकता दिन आग्रह गरेको हो ।
साथै, परिसंघले सोमबारको प्रदर्शनका क्रममा युवाहरूको ज्यान गएकोप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । सीएनआई निर्दोषहरूको ज्यान जाने कुनै पनि प्रकारको हिंसाको कडा शब्दमा निन्दा समेत गरेको छ । ‘हाम्रो भविष्य नेपालका युवाहरूको ऊर्जा, रचनात्मकता र आकांक्षामा निर्भर छ, हिंसाको माध्यमबाट ती आवाजलाई दबाइनु राष्ट्रकै लागि ठूलो क्षति हो’, परिसंघले भनेको छ ।
नेपालको समृद्धिको मार्गमा द्वन्दभन्दा संवाद, विभाजनभन्दा समझदारी र सबैभन्दामाथि नागरिकको सुरक्षा हुनुपर्छ भन्नेमा परिसंघ स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख छ । परिसंघले लोकतान्त्रिक अभिव्यक्तिलाई सुरक्षित राख्ने र त्यसका साथै कानुन, व्यवस्था र मानव जीवनको पवित्रता सुनिश्चित गर्ने पहलको समर्थन गर्दै आईरहेको समेत स्पष्ट पारेको छ ।