काठमाडौं । मोरङ व्यापार संघले जेन–जीको प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । युवापुस्ताले वैचारिक जागरण, भ्रष्टाचारको अन्त्य, देशभित्रै उच्चस्तरीय शिक्षा र मर्यादित रोजगारीको माग गर्दै थालेको आन्दोलनमा प्रहरीद्वारा अत्यधिक बल प्रयोग गरिएपछि उत्पन्न मानवीय क्षतिप्रति संघले चिन्ता व्यक्त गरेको हो ।
संघले मंगलबार जारी गरेको विज्ञप्तिमा प्रदर्शनका क्रममा युवाहरूको ज्यान गएको घटनालाई दुःखद् तथा स्तब्ध बनाउने भन्दै श्रद्धाञ्जलि अर्पण गरिएको छ । साथै, घाइते सबैप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, युवा पुस्ताको आवाजलाई गम्भीरतापूर्वक सुन्न सरकारसहित सम्बन्धित निकायलाई आग्रह गरिएको छ । ‘देशको अर्थतन्त्र दिनानुदिन नाजुक बन्दै गएको, श्रम पलायन तीव्र भइरहेको, र नवप्रवर्तनशील युवाहरूको भविष्य अन्योलमा परेको बेला, उनीहरूले उठाएका प्रश्नहरू उपेक्षा गर्नु हुँदैन,’ विज्ञप्तिमा भनिएको छ ।
संघका अनुसार देशभित्र उद्यमशीलता विकास गर्ने वातावरण सिर्जना गर्न, नीति निर्माणमा रहेको भ्रष्ट्राचार अन्त्य गर्न र तिरेको राजस्वको पारदर्शी उपयोग सुनिश्चित गर्नुपर्ने आवश्यकता छ । संघले बारम्बार यस्ता मुद्दाहरू उठाउँदै आए पनि सरकारी निकायहरूले संवेदनशीलता नदेखाएको भन्दै गुनासो गरेको छ ।
संघले लगानी प्रवर्द्धन, रोजगारी सिर्जनाका लागि आवश्यक संरचनागत सुधार गर्नुपर्नेमा जोड दिँदै समुन्नत समाज निर्माणमा सबैले सकारात्मक भूमिका खेल्नुपर्ने जनाएको छ ।