विराटनगर,जेनजी आन्दोलनको आडमा मोरङको सीमावर्ती क्षेत्रमा लुटपाट र अराजकताका घटनाहरू तीव्र हुँदै गएका छन्। विशेष गरी भारतीय सीमावर्ती क्षेत्रबाट केही समूह नेपाल प्रवेश गरी विराटनगरका विभिन्न भागहरूमा लुटपाट, आगजनी र तोडफोडका क्रियाकलापमा संलग्न भएका छन्।बिहीबार बिहान, विराटनगरको पुरानो भन्सार कार्यालय परिसरमै भारतीय लुटेरा समूहले प्रवेश गरी तोडफोड र लुटपाट गरेका छन्। उक्त समूहले बुधबार नै सो परिसरमा आगजनीसमेत गरेका थिए। आज बिहान पुनः उनीहरू नेपाल प्रवेश गरी विभिन्न स्थानमा लुटपाट र अराजक क्रियाकलापमा संलग्न भएका हुन्।
लुटपाटमा संलग्न समूहहरूलाई नेपाल प्रहरीले तत्कालै खदेरेको र नियन्त्रणमा लिने कार्य भइरहेको छ। ‘विभिन्न समूहमा उच्छृङ्खल र आपराधिक मानसिकता बोकेका व्यक्तिहरू सक्रिय रहेका छन्,’ उनले बताए, ‘त्यसैले सुरक्षाकर्मीहरू अहिले सधैं सतर्क अवस्थामा छन्।’
भारतीय सीमा क्षेत्रको रानी नाका हुँदै नेपाल प्रवेश गरेका समूहहरूले अन्तर्राष्ट्रिय सीमास्तरीय जाँच चौकी (ICP) क्षेत्रमा समेत लुटपाट र अराजकता मच्चाएको प्रहरीले जानकारी दिएको छ।प्रमुख जिल्ला अधिकारी यादवले जनाए अनुसार, अहिले सबै सुरक्षा निकायहरू – नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना – सतर्क अवस्थामा रहेका छन्। सबै संरचनामा सुरक्षा बल परिचालन भइसकेकोले कुनै पनि आपराधिक गतिविधिको सूचना पाउनेबित्तिकै तत्काल नियन्त्रणमा लिने व्यवस्था मिलाइएको उनले स्पष्ट पारे। स्थानीय बासिन्दालाई पनि सतर्क रहन र यस्ता गतिविधिबाट प्रभावित हुँदा नजिकको सुरक्षा निकायलाई तुरुन्त खबर गर्न आग्रह गरिएको छ। साथै, समुदायस्तरमा प्रतिकारको तयारी गर्नसमेत प्रशासनले सुझाएको छ।