काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अगुवाइमा देशभरका विभिन्न अदालतबाट गरी झण्डै साढे १३ हजार कैदीबन्दी भागेका छन् । जेन–जी आन्दोलनको क्रममा भीडको सहायताबाट सभापति लामिछाने मंगलबार नख्खु कारागारबाट निस्किएका थिए । लामिछानेको यही प्रयासपछि देशभरका कैदीबन्दीहरु कारागारबाट भागेर अदालतमा तोडफोडमा संलग्न हुन थालेका छन् ।
बुधबार डिल्लीबजार कारागारका कैदीबन्दीहरुले पनि रवि लामिछाने कारागारबाट मुक्त हुँदा आफूहरु किन नहुने भन्दै प्रश्न उठाएका थिए । उनीहरुले नागरिक–नागरिकबीच विभेद गर्न नहुने भन्दै आफूहरुले पनि रिहाइ पाउनुपर्ने भन्दै राखेको तर्कले यसमा लामिछानेको भूमिका पनि रहेको पुष्टि हुन्छ ।
मंगलबार दिउँसो काठमाडौँलगायत धेरै ठाउँमा ‘जेनजी’ युवाको आन्दोलन चलिरहँदा एक समूह ललितपुरको नख्खुस्थित कारागार बाहिर जम्मा भइसकेको थियो । त्यो समूहले लामिछानेलाई रिहा गर्नुपर्ने, नभए कारागारमै आगजनी गर्ने धम्की दिएर प्रदर्शन गर्न शुरू गरेपछि कारागार प्रशासन त्रस्त बन्यो । लगत्तै उनलाई रिहा गरियो । लामिछाने रिहा भइसकेपछि त्यहाँ रहेका अन्य कैदीबन्दी पनि आन्दोलित बने । उनीहरूले कारागारमै आगो लगाउने चेतावनी दिएपछि त्यहाँ भएका सबै कैदीबन्दी बाहिर निस्किएका हुन् । लामिछाने नक्खु कारागारबाट बाहिर निस्कनुभन्दा अघिसम्म देशभरका कारागारको अवस्था सामान्य थियो । कैदीबन्दीहरू शान्तिपूर्वक बसिरहेकै थिए । जब नक्खु कारागारबाट पहिले लामिछाने रिहा भए एकाएक देशभरको कारागार अशान्त बन्न पुग्यो ।
मंगलबार राति देशकै सबैभन्दा धेरै कैदीबन्दी राखिएको सुन्धारास्थित केन्द्रीय कारागारमा नक्खु कारागारबाट भागेर आएका कैदीबन्दीले आक्रमण थालेपछि त्यहाँ रहेका तीन हजार दुई सय कैदीबन्दी पनि भाग्न सफल भए । सो बारेमा प्रशासन समेत जानकार नरहेको भए पनि बुधबार बिहानैदेखि डिल्लीबजार कारागारमा पनि कैदीबन्दी भाग्न थालेपछि उनीहरूलाई स्थानान्तरण गर्न खोज्दा सो बारेमा जानकारी बाहिर आएको थियो । बुधबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको गल्छी बैरेनीबाट नियन्त्रणमा लिइएको छ ।
बुधबार धादिङबेसीस्थित कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई रोक्न सुरक्षाकर्मीले गोली चलाउँदा दुई जना कैदीको मृत्यु भएको छ । त्यहाँ पनि उनीहरुले आफूहरुको रिहाइको माग गर्दै प्रदर्शन गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन सेनाले गोली चलाएको थियो । करिब डेढ दर्जन कारागारबाट सो संख्यामा कैदीहरु फरार भएका हुन् । यसरी फरार भएका कैदीबन्दीहरुको मुख्य निशाना अदालत र सामाजिक अराजक गतिविधि गर्ने गरेको भेटिएको छ ।