काठमाडौं । कम्युटर एसोसिएसन नेपाल महासंघले जेन्जीले गरेको आन्दोलनमा राज्यले गरेको दमनको विरोध गरेको छ । महासंघका महासचिव चन्द्र विलास भुर्तेलले जारी गरेको विज्ञप्तीमा महासंघ हरेक युवाको सिर्जनशीलता, डिजिटल अधिकार र स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने उल्लेख छ ।
विज्ञप्तीमा डिजिटल स्वतन्त्रता, भ्रस्टाचारको अन्त्य र सुशासनको माग गर्दै जेन्जी युवा बिद्यार्थीहरुको आव्हानमा भएको बिरोध प्रदर्शनका क्रममा हृदयविदारक अमुल्य जीवन गुमाएका होनहार युवाहरु प्रति भाबपूर्ण श्रदान्जलि अर्पर्ण गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समबेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गरिएको छ ।
‘लोकतान्त्रिक व्यवस्थामा आफ्ना जायज अधिकारका माग राख्दा राज्यबाट भएको अमानवीय दमन र होनहार युवाहरुले अकल्पनीय सहादत प्राप्त गर्नु परेको घटना प्रति क्यान महासंघ अत्यन्त दुखित भएको छ’, महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ । वर्तमान असहज अवस्थालाई यथासम्भव छिटो सामान्य अवस्थामाल्याई व्यावसायिक वातावरण तथा सर्वसाधारणको दैनिकी जीवन सहज बनाउन सम्बन्धित सबै पक्षहरूलाई आवश्यक कदम चाल्न क्यान महासंघले अनुरोध गरेको छ ।