व्यापक परिवर्तनको अपेक्षाबाट जन्मिएको परिवर्तनकारीहरूको अभियानलाई अराजकताको आगोले खरानी पार्ला कि भन्ने डर बढ्दो छ । जसले यस्तो आन्दोलनको आह्वान गरेका थिए उनीहरूले नै सरकारी सम्पत्ति तोडफोड र आगजनी नगरौँ भन्दाभन्दै केन्द्रीय राजधानी काठमाडौंका प्रमुख सरकारी निकायहरू जसरी ध्वस्त भए यो आफैँमा राष्ट्रको नोक्सानी हो । आन्दोलनकारीहरूले पनि यसो नगरौँ भन्दाभन्दै जे–जे गरियो त्यो आफैँ एउटा अध्ययनको विषय भएको छ । छोटो अवधिमा जति मानवीय क्षति भयो त्यसलाई जति निन्दा गरे पनि कमै ठहर्छ तर त्यसको बदलामा राष्ट्रिय भौतिक संरचनाई जसरी खरानी बनाउने काम भयो त्यो परिवर्तनकामीहरूको आकांक्षालाई गिज्याउने खालकै छ । कतैबाट पनि यस्तो कामलाई सहन सकिँदैन । अहिले यो वर्गको नेतृत्व गरिहेको भनेर चिनाउनेहरूले यसको जिम्मेवारी लिऊन् ।
अहिले सबै केन्द्रीय कार्यालयहरू खरानी भएका छन् । जसको आह्वानमा यो आन्दोलन भएको थियो उनीहरूले नै यसमा स्वार्थ प्रेरितहरूको अवाञ्छित प्रवेशले यस्तो स्थिति आएको भनिरहेका छन् । उनका सामाजिक सञ्जालमा आएका वक्तव्यमा तिनको नामै उल्लेख छ । यसको सही अध्ययन गर्ने हो भने यस्तो डरलाग्दो आगजनीका केही हदसम्म दोषी पत्ता लाग्न सक्छन् । अहिले सैनिक टोलीले काठमाडौंका प्रमुख र सहायक सडकमा गस्ती गरिरहेको अवस्था छ । यसले सर्वसाधारणहरूको सकेसम्मको संरक्षण गर्ला भन्ने अपेक्षा हो । यतिबेला पनि केन्द्रीय प्रशासनिक भवन सिंहदरबार मूलगेटअगाडिका सडकबाटै आगो देखिरहिएकै छ । महान्यायाधिवक्ताको कार्यालयको भुइँतलातिर धुवाँ उडिरहेकै छ । यो निकाय आम नागरिकसँग सरोकार राख्ने निकाय होइन । सरकारवादी मुद्दासँग केही व्यक्तिको मात्र यसमा सरोकार रहन्छ । यो निकायमा आगो लगाउन किन पे्ररित भइयो भन्ने यसले पनि बताउनेछ । त्यस्तै सर्वोच्च अदालतभित्रका सबै कागजात जलेर खरानीको रासमा परिणत भएका बाटैबाट देखिन्छ । सर्वोच्च अदालतको आगो अझै निभिसकेको छैन । संसद् भवन भनेको जनप्रतिनिधिको थलो हो । त्यो भवन पनि खरानीको रासमा परिणत भएको छ । यी यस्ता निकायमाथि भएको आगजनी निश्चय नै परिवर्तनको अपेक्षासँग मेल खाँदैन । बरु आन्दोलनकारीले भनेजस्तै अवाञ्छित तत्वको प्रवेश भएको भन्ने नै देखाउँछ ।
यो आन्दोलनका नायक भनेका जेन–जीलाई अहिले पन्छाउन खोजिएको जस्तो देखिन थालेको छ । यसले अरु शंकाहरू जन्माउँदै छन् । जस्तो आन्दोलनको तेस्रो दिन वार्ताकै सन्दर्भमा एक जना जेन–जी अभियन्ताले प्रधानसेनापतिमा केही गम्भीर आरोप लगाएको पाइएको छ । उनले यो आन्दोलनको थालनीमा कतै सरोकार नभएकाहरूसँग मिलापत्र गर्न भनेर भनेपछि वार्ताबाट नै बाहिर आउन परेको भनेको अवस्था छ । वार्तामा जेन–जी अभियन्ताका तर्फबाट खटिएकी रक्षा बमले प्रधानसेनापतिले दुर्गा प्रसाईँ र रास्वपा समूहसँग वार्ता गर्नुस् भनेपछि आफूहरू सैनिक मुख्यालयबाट बाहिरिएको भनेर जानकारी गराएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छन्, ‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईँ र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरू पनि स्टेकहोल्डर हो भनेर स्वयं प्रधानसेनापतिले भनेसकेपछि, जेन–जी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदर्शनकारी जे–जी समूहसँग छलफलका निम्ति तयारी गरिरहेका छौँ । यदि यो सत्य हो भने यो आन्दोलनमा कस–कसको नजायज प्रवेश भएछ भन्ने प्रस्ट भएको छ । त्यसो हो भने आन्दोलनकारीले नचाहँदा नचाहँदै गरिएको यो भौतिक संरचनामा क्षति कहाँबाट भएछ भन्ने देखिन्छ । यसमा अब नागरिक समाज पनि सजग बनोस् । अभियान्ताहरूले उल्लेख गरेका यी नाम आन्दोलनअघि आएका होइनन् । यस्तो कामले अराजकताको आगो निभ्न दिँदैन । यस्तो आगो बालेर आफ्नो रोटी सेक्ने कामले स्थितिमा परिवर्तन गराउँदैन ।