काठमाडौं । नेपाल बीमा प्राधिकरणले तत्कालको लागि घरबाट नै काम गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गर्दै हाल देशमा उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन बीमा कम्पनीहरूलाई आग्रह गरेको हो । सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्म घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन बीमा कम्पनीहरूलाई आग्रह गरिएको प्राधिकरणद्वारा जारी गरिएको पत्रमा उल्लेख छ ।
पत्रमा भनिएको छ, ’हाल देशमा उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपालभर रहेका बीमा कम्पनीहरू तथा तिनका शाखा र उपशाखा कार्यालयबाट सम्पादन हुँदै आइरहेका कार्यलाई सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्मका लागि घरबाटै कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।’
प्राधिकरणले आफ्ना कर्मचारी तथा भौतिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नका लागि सुरक्षा निकायहरूको आदेश पूर्णरुपमा पालना गर्न तथा कुनै पनि अवाञ्छित गतिविधि देखा परेमा तत्काल सम्बन्धित सुरक्षा निकायलाई खबर गर्नसमेत अनुरोध गरेको छ ।